भैरहवा, ३१ बैशाख ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजन प्रतियोगितामा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा बिहीबारको खेलमा बुद्धले जेआर क्रिकेट क्लबलाई ३ विकेटले पराजित गरेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जेआरले ४५.५ ओभरमा सबै बिकेट गुमाएर १ सय ४० रनको लक्ष्य खडा गरेको थियो । उसका लागि खडक बोहराले २६, विशाल भुसालले २४, दिनेश विष्टले २१, राज खनालले १९, बिमल भट्टराईले १४ रन बनाए । बुद्धका दिलसाद अलीले ३, विपिनप्रसाद शर्मा र अमित अग्रहरीले २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा मैदान उत्रेको बुद्धले ३१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य भेटायो । बुद्धको जितमा सुरज पौडेलले २७, मिथलेश यादवले २६, दिलसाद अलीले २५, गौतम जिसीले २२ र हरिकेश मुराउले १० रन बनाए । जेआरका दिनेश विष्टले २ विकेट लिए । खेलमा दिलसाद अली प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।





















