भैरहवा, २८ बैशाख ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजनमा वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा सोमबार भएको खेलमा वेष्टर्नले बुद्ध क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको बुद्धले २६.५ ओभरमा केवल ७७ रनमा समेटियो । उसलाई सस्तैमा रोक्न वेष्टर्नका अभिषेश गौतमले ४, सुझाव थापाले ३ विकेट लिए । बुद्धका मिथलेश यादव र दिलसाद अलीले १५/१५ तथा गौतम केसीले १० रन बनाए ।
सामान्य रन पछ्याएको वेष्टर्नले ८.४ ओभरमा केवल १ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । उसका लागि प्रज्जवल थापाले अविजित ४७ र रन्जित खड्काले नटआउट २८ रन बनाए । बुद्धका विपिन शर्माले १ विकेट लिए । खेलमा अभिशेष गौतम प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँबाट पुरस्कृत हुने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।





















