Spread the love

बुटवल, २८ बैशाख ।
बुटवलमा रुपन्देही जिल्ला स्तरीय १६ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता शुरु भएको छ । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश खेलकुद परिषद् लुम्बिनीका अध्यक्ष सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्दै खेल विकासमा सहकार्य जरुरी रहने बताए । तीन तहकै सरकार र सरोकारवालाहरुबाट सहकार्य भए खेल विकाससंगै खेलाडीलाई ब्यवसायिक बनाउन सकिने उनको दाबी छ । देशभर नै अहिले क्रिकेट खेलको आर्कषणको कारण यो खेल प्राथमिकतामा पर्ने गरेको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शिक्षा र स्वास्थ्य क्षेत्रमा पालिकाबाट बजेट बिनियोजनसहित धेरै कामहरु भएको दाबी गरे । खेल गतिविधि र पूर्वाधारमा प्रत्येक वर्ष ५ करोड बराबर बजेट बिनियोजन गरेको उनले बताए ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कोशिश कुमार खड्काले वार्षिक नियमित खेलकुद गतिविधिलाई निरन्तरता दिन जरुरी रहेको बताए । यसबाट विद्यार्थीहरु भातृत्वसंगै प्रतिस्पर्धी खेल भावना विकास हुने उनले बताए ।
कार्यक्रममा उपमेयर सावित्रादेवि अर्याल, वडा नं ५ का हरिप्रसाद श्रेष्ठ, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, न्यू होराईजन ई बोर्डिङ स्कुलका प्राचार्य बासुदेव अर्यालले खेलाडी उत्पादन गर्ने गरि स्थानिय स्तरमा गरिने प्रतियोगिताको महत्वबारे प्रकाश पारे ।

एन्फा एकेडेमी खेलमैदानमा एथ्लेटिक्स अन्तरगत भएको १५ सय मिटर दौडमा सियारीका सचिन कुर्मी प्रथम स्थान हासिल गरेका छन । उनले ४ मिनेट ३८ सेकेण्डमा दुरी पार गरेका हुन । यसैगरि बुटवल उपमहानगरपालिकाका आयुष सारु ४ मिनेट ३५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो तथा गैडहवाका सर्वजित चमारले ४ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरेका छन । यसैगरि छात्रातर्फ तिलोत्तमाका चाँदनी पासी ५ मिनेट ५९ सेकेण्डमा दुरी पार गर्दै प्रथम भईन । देवदहकी आयुष्मा खत्री ६ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा सुद्धोधनकी सुप्रिया पुन ६ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरिन ।

यसैगरि छात्र–छात्रा कबड्डी प्रतियोगिता रुपन्देही जिल्ला खेलकुद विकास समितिको कबड हल, तेक्वान्डो खेलहरू नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालय तथा कराते दीप बोर्डिङ स्कुल, छात्र भलिबल न्यु होराइजन बोर्डिङ स्कुलको खेलमैदानमा तथा छात्रा भलिबल एभरेस्ट बोर्डिङ स्कुलको खेलमैदानमा गर्ने ब्यवस्था भएको रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव चन्द्रकान्त आचार्यले बताए । प्रतियोगितामा रुपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगर, तिलोत्तमा, देवदह, सैनामैना, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, शुद्धोधन, कञ्चन, मायादेवी र सियारी गाउँपालिका ६९० जना छात्र र ६९० जना छात्रा गरि कुल १३८० जना खेलाडीहरुले विभिन्न विधामा सहभागिता जनाएका छन ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्