काठमाडौँ । तिहारलाई लक्षित गरी बजारमा बिक्री वितरण गर्न राखिएका म्याद गुज्रिएका चकलेट र अवैध रूपमा भण्डारण गरिएका पटका तथा विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले काठमाडौँ महानगरपालिका–६, चुच्चेपाटीस्थित एक घरमा छापा मार्दा अवैध रूपमा भण्डारण गरिएका पटका, विस्फोटक पदार्थ तथा तिहारमा भाइमसला बनाउन प्रयोग गरिएका म्याद गुज्रिएका चकलेट फेला परेका हुन् ।
प्रहरीका अनुसार भारतको मोतिहारी घर भई हाल काठमाडौँमा बस्दै आएका २९ वर्षीय रमन कुमार पटेलले अवैध रूपमा पटका तथा म्याद गुज्रिएका भाइमसला बिक्री वितरण गरिरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छानबिन गरेको थियो ।
प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका पटका तथा विस्फोटक पदार्थका साथै भाइमसला बनाउन प्रयोग गरिएका म्याद गुज्रिएका चकलेट बरामद गरेको जनाएको छ ।
बरामद सामग्रीमा पेन्ता स्काई फ्ल्यास ४३ प्याकेट, कलरकोट ३९ प्याकेट, सिल्भर टर्चर १० प्याकेट, बलाजिस ४९ प्याकेट, ग्लिटर रेन ५ प्याकेट, लन्डन ड्रिम्स १५ प्याकेट, क्र्याकलिङ १५ प्याकेट, पप÷पप जेनुइन २१ प्याकेट, मोरी १३८ प्याकेट, स्पिनर बम १० प्याकेट र क्लासिक बम १० प्याकेट रहेका छन् ।
त्यस्तै, इलेक्ट्रिक्स रड ६ पिस, सुप्रिम २३ पिस, सुप्रिम फायर वक्र्स २ पिस, पप मिकी माउस २२ पिस, कोब्रा किङ २२ प्याक, क्र्याकलिङ २५० प्याकेट र कोट्को लेखिएको चकलेट १४० प्याकेट बरामद गरिएको छ ।
यसैगरी तिहारको स्पेसल भाइमसला ४९० प्याकेट, भाइमसला कचौरा ३१५ प्याकेट, विभिन्न प्रकारका नरिवल २ केजी र चकलेट १० केजीसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीले बरामद सामग्री नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



















