बुटवल, २८ वैशाख ।
सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन नेपाल सरकारले घोषणा गरेको ‘सरसफाइ सप्ताह २०८३’ लाई बुटवलमा युवाहरुले साथ दिएका छन । रुद्रगण र एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
बसपार्क भित्र र बाहिर र लुम्बिनी प्रादेशिक अस्पतालको गेट परिसरमा सरसफाई गरिएको रुद्रगणका संयोजक कमल सापकोटाले खस्यौली खबरलाई बताए । सरकारको सकारात्मक कामलाई स्वागत गर्दै समुदायमा सरसफाई चेतना फैलाउने गरि आफुहरुले कार्यक्रम गरेको उनको दाबी छ । बसपार्क क्षेत्रमा अत्याधिक गुट्का, प्लाष्टिकहरु भेटिएको भन्दै उनले मानिसहरुलाई सचेत बनाउनुको साथै अटेर गर्नेहरुलाई दण्ड जरिवाना गरिनुपर्ने धारणा राखे । बिहान ७ बजेबाट ९ बजेसम्म करीब ६० जना युवाहरुले अभियान शुरु गरेका थिए ।
सरकारले घोषणा गरे अनुसार नै अबको पाच दिनसम्म अभियान संचालन हुने उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक विशेष मार्गदर्शन जारी गर्दै सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै निकायलाई यस अभियानमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ । उक्त राष्ट्रिय अभियानको औपचारिक उद्घाटन सोमबार बिहान ८ः३० बजे वीर अस्पतालबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहेताले गरेकी छिन ।





















