Spread the love

भैरहवा, २५ बैशाख ।

भैरहवा जारी पंचकन्या रुपन्देही सुपरलिग अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । शुक्रबार भएको खेलमा तिरुपतिले न्यु होराइजन स्पोटर्स क्लबलाई ४ विकेटले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले २२.३ ओभरमा केवल ७६ रनको झिनो योगफल खडा गर्यो । उसका लागि निर्मल गुरुङले २९ र विप्रसन केसीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्न तिरुपतिका अपराजित पौडेल र मोहम्मद हुसेनले ३–३ तथा तुलबहादुर थापाले २ र आकाश त्रिपाठीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले १४.१ ओभरमा केवल ६ विकेटको नोक्सनीमा लक्ष्य भेटायो । उसको जितमा विजय प्रजापतिले २४, तुलबहादुर थापाले अविजित २० र सन्दीप मौर्यले १४ रन बनाए । बलिङमा न्यु होराइजनका निर्मल गुरुङले २ तथा अमर मिश्रा, विप्रसन केसी र महेश भरले समान १–१ विकेट लिए । खेलमा मोहम्मद हुसेन प्लेयर अफ द म्याच बाट पुरस्कृत भए ।

रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्