बुटवल, २३ वैशाख ।
नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लमिनारले रुपन्देहीको बुटवल–१३, बेलबासमा नयाँ ‘एम्पोरियो डिलर’ शोरुम सञ्चालनमा ल्याएको छ । जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि.सँगको सहकार्यमा स्थापना गरिएको उक्त शोरुम मंगलबार औपचारिक रूपमा उद्घाटन गरिएको हो । आवासीय घर, व्यवसायिक भवन तथा पूर्वाधार निर्माणका गतिविधि जिल्लामा तीव्र रूपमा बढिरहेका बेला शोरुम शुभारम्भ गरिएको छ ।
लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोष खेतानले शोरुम उद्घाटन गर्दै ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । “यो शोरुमले ग्राहकलाई टायललाई राम्रोसँग हेर्न, बुझ्न र प्रयोगअनुसार छनोट गर्न सहयोग पु¥याउँछ,” उनले भने ।
कार्यक्रममा जनता ट्रेड लिंक एण्ड कन्स्ट्रक्सन प्रा.लि.का अध्यक्ष छबिन्द्र भट्टराईले उपभोक्ताको प्राथमिकतामा आएको परिवर्तनलाई शोरुमले सम्बोधन गर्ने विश्वास व्यक्त गरे । “अहिले ग्राहकले टायल किन्दा डिजाइन मात्र हेर्दैनन्, टिकाउ छ कि छैन, सफा गर्न सजिलो छ कि छैन भन्ने कुरामा पनि ध्यान दिन थालेका छन्,” उनले भने, “यो शोरुमले त्यही सचेतना बढाउन मद्दत गर्नेछ ।”
कम्पनीका अनुसार लमिनारका टायल बर्दियास्थित आधुनिक कारखानामा उत्पादन गरिन्छन्, जुन नेपाल मानक (एनएस ६१७) अन्तर्गत पर्ने पूर्ण भिट्रिफाईड टायल हुन् । यस्तो टायलको पानी शोषण दर अत्यन्त न्यून हुने भएकाले लामो समयसम्म टिकाउ रहने विशेषता रहेको बताइएको छ। सो कारखानाबाट दैनिक १ लाख ४० हजार वर्गफुटभन्दा बढी टायल उत्पादन हुने गरेको कम्पनीले जनाएको छ ।
नयाँ शोरुममा ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध रहेका छन्। फुलबडी टायल, एन्टिब्याक्टेरियल सतह भएका टायल तथा उच्च चमकयुक्त हाई–ग्लस टायल यहाँ पाइनेछन्। यसले उपभोक्तालाई आफ्नो आवश्यकता र प्रयोगअनुसार विविध विकल्प छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
शोरुमलाई केवल बिक्री केन्द्रका रूपमा नभई परामर्श केन्द्रका रूपमा विकास गरिएको कम्पनीको भनाइ छ। यहाँ ग्राहकले टायलको डिजाइनसँगै प्रयोग हुने स्थान, चिप्लिने सम्भावना, टिकाउपन तथा मर्मतसम्भारको सहजता जस्ता पक्षबारे जानकारी लिएर उपयुक्त छनोट गर्न सक्नेछन्। बजारमा यस्तो व्यवहारिक सोच विस्तार हुँदै गएको कम्पनीले उल्लेख गरेको छ ।
लमिनारले देशभर ‘एम्पोरियो’ शोरुममार्फत आफ्नो सञ्जाल विस्तार गर्दै आएको छ । कम्पनीले आगामी दिनमा १६० भन्दा बढी शोरुम सञ्चालनमा ल्याउने लक्ष्य लिएको जनाएको छ ।





















