भैरहवा, २३ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित बहिरा बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह विविध कार्यक्रम गरि मनाईएको छ । मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीको रुची अनुसार पठनपाठनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । शिक्षालाई विद्यार्थीको चाहना, क्षमता र भविष्यसँग जोडेर अघि बढाउन आवश्यक रहेको उनको दाबी थियो । समाजमा अपांगता भएका व्यक्तिहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको भन्दै फरक क्षमता भएका विद्यार्थीलाई आत्मनिर्भर र उद्यमशील बनाउन प्रदेश सरकारले प्राथमिकता दिएको बताए । अपांगता भएका बालबालिकाका लागि पहुँचयुक्त, समावेशी र व्यवहारिक शिक्षा प्रणाली विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस्ता विशेष विद्यालयहरूको सुदृढीकरण, स्रोतसाधन विस्तार तथा दक्ष जनशक्ति व्यवस्थापनमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।
वि.सं. २०३२ सालदेखि सुनाइ सम्बन्धी समस्या भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले विशेष शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ । विद्यालयले नेपालसँगै छिमेकी मुलुक भारतका विद्यार्थीहरूलाई समेत समेट्दै समावेशी शिक्षा प्रदान गर्दै आएको छ । आवासीय सुविधा, पूर्वप्राथमिकदेखि कक्षा १२ सम्मको अध्ययन तथा सीपमूलक तालिममार्फत विद्यार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गरेको विद्यालयले जनाएको छ ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य भिम बहादुर थापाले पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म पढाई हुँदै आएको विद्यालयमा नेपाल–भारतका गरी २ सय ४३ जना विद्यार्थीहरु अध्ययनरत रहेको बताए । यसमध्ये १ सय ३५ विद्यार्थीहरु छात्राबासमा बस्दै आएका छन् ।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयद्वारा प्रकाशन गरिएको स्मारिका विमोचन गरिएको थियो । उक्त स्मारिकाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारी, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेयले विमोचन गरेका थिए । विद्यालयमा ३५ जना शिक्षक–शिक्षिका तथा कर्मचारीहरु कार्यरत छन् ।





















