Spread the love

बुटवल, २२ वैशाख ।

बुटवल उपमहानगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण हटाउने क्रममा एक राजनीतिक पीडितको घर डोजर लगाएर भत्काइएको घटनाले विवाद चर्किएको छ । बुटवल–४ दरबारमार्ग निवासी भक्तराज बस्नेतले आफूलाई विगतमा राज्यबाट राजनीतिक पीडितको रूपमा जग्गा उपलब्ध गराइएकै स्थानमा बनाएको घर कुनै पूर्वविकल्प नदिई भत्काइएको आरोप लगाएका छन् । उनका अनुसार सोही प्लटमा रहेका अन्य घरहरू भने पहुँचका आधारमा नछोइएको छ ।

बस्नेतका अनुसार वि.सं. २०४७ सालमा न्गmिष् को नयाँगाउँमा सार्वजनिक जग्गा खाली गराउने क्रममा तत्कालीन काँग्रेस नेता जयप्रताप मल्लले चलाएको गोली लागेर उनी घाइते भएका थिए। शरीरमा अझै गोली रहेको उनले बताएका छन् । त्यसपछि तत्कालीन सरकारले उपचार र क्षतिपूर्तिको निर्णय गर्दै २०५२ सालमा सुकुम्बासी समस्या समाधान आयोगमार्फत उनलाई रुपन्देहीमा जग्गा उपलब्ध गराएको थियो ।

उक्त जग्गामा तीन दशकदेखि परिवारसहित बसोबास गर्दै आएका बस्नेतले उपमहानगरपालिकाले पर्याप्त समय नदिई घर भत्काएकोमा आपत्ति जनाएका छन् । “राति माइकिङ गरेर सूचना दिइयो, भोलिपल्ट बिहानै डोजर आयो । दुई घण्टा समय माग्दा पनि नदिई घर भत्काइयो,” उनले गुनासो गरे ।

उनका अनुसार घरभित्र रहेका सामान निकाल्न नपाउँदा ठूलो धनमाल क्षति भएको छ । “पाकेको खाना खानसमेत नदिई डोजर चलाइयो,” उनले भने । बस्नेतले सूचनामा परेका अन्य २६ घर भने अझै नभत्काइएको उल्लेख गर्दै आफूलाई लक्षित गरेर कारबाही गरिएको आशंका व्यक्त गरेका छन् । “यदि अतिक्रमण हटाउने हो भने सबैमा समान व्यवहार हुनुपर्छ,” उनले भने ।

यसैबीच, उपमहानगरपालिकाले २०७७ सालमा गठन गरेको छानबिन उपसमितिले समेत बस्नेतलाई राजनीतिक पीडितका रूपमा उल्लेख गरेको थियो । बस्नेतले घटनाको निष्पक्ष छानबिन गरी न्याय दिलाउन पत्रकार तथा सरोकारवाला निकायसँग आग्रह गरेका छन् । उता, आइतबार सुकुम्बासीहरूको विरोध सभामा नगर नेतृत्वले अन्य बस्ती नहटाइने प्रतिबद्धता जनाएको विषयले आफू झन् आक्रोशित भएको उनले बताए ।
“म अपाङ्ग अवस्थामा छु, दुई घण्टा समय माग्दा पनि नदिई डोजर चलाइयो, तर अरूलाई संरक्षण गर्ने कुरा किन?” भन्दै उनले प्रश्न उठाएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्