भैरहवा, २० बैशाख ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग ‘ए’ डिभिजन क्रिकेट प्रतियोगितामा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ । मौसमका कारण २० ओभरमा छोट्याइएको आईतबारको खेलमा खुकुरीले तिरुपति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको तिरुपतिले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा ७९ रन बनायो । उसलाई सस्तैमा रोक्न खुकुरीका शाहव आलमले ३, बैतुल्लाह खान र अजयकुमार चौहानले २–२ विकेट लिए । तिरुपतिका आकाश त्रिपाठीले २७ र रौनक श्रीवास्तवले २४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
जितका लागि पाएको ८० रनको झिनो लक्ष्य लुम्बिनी खुकुरीले १०.५ ओभरमा ३ विकेटको नोक्सानीमा भेटायो । उसको जितमा निश्चल चौधरीले अविजित २६, सन्दीप रजालीले नटआउट २०, शंकर रानाले १५ र समीर अली मुसलमानले १० रन जोडे । तिरुपतिका तुलबहादुर थापा २ र अपराजित पौडेलले १ विकेट लिए । खेलमा शाहब आलम प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।





















