Spread the love

पाल्पा, २१ वैशाख ।
पाल्पाको तिनाउ गाउपालिका १, कचलस्थित युवा वर्ष माध्यमिक विद्यालयमा शैक्षिक व्यवस्थापन तथा टीम बिल्डिङ्ग तालिम सम्पन्न भएको छ । विद्यालयलाई नमूना विद्यालय बनाउने अभियान स्वरुप कचल कृषि सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत आईतबार एक दिने तालिम सम्पन्न गरेको हो ।

तालिमको सहजिकरण गर्दै दमकडा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समिति, पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले विद्यालय व्यवस्थापन समितिको काम, कर्तव्य, अधिकार र यसका क्षेत्रलगायत पद्वतिगत रुपमा विद्यालय सञ्चालन, व्यवस्थापनका लागि जिम्मेवार पक्षबाट खेल्नुपर्ने भूमिकाबारे प्रकाश पारे । उनले स्थानीय साधन र स्रोत अधिकतम विकास गर्दै विद्यालयलाई नमूना बनाउन सकिने बताए । त्यसका लागि शिक्षकहरुको लगनशीलता र समितिको हातेमालो जरुरी हुने उल्लेख गरे ।

यसैगरि तालिममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, अभिभावक, शिक्षक र विद्यार्थीबीच टीम निर्माण, व्यवस्थापन,योजना निर्माण, कार्यान्वयनमा भूमिका र अब्बल विद्यालय बनाउनका लागि समन्वय, सहकार्य र सहयात्राका निम्ति अपनाउनुपर्ने विधि, प्रक्रिया र पद्धतिका बारेमा शैक्षिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरज कार्कीले तालिममा प्राप्त गरेको ज्ञान, सीप र धारणालाई विद्यालयको उन्नति र प्रगतिका लागि खर्चिने बताए । सिकाईलाइ व्यवहारसँग दाँजेर अघि बढ्न तालिमबाट उत्प्रेरणा मिलेको प्रअ कार्कीले उल्लेख गरे ।

कचल कृषि सहकारीका अध्यक्ष भोजबहादुर छहरीले आफ्नो सहकारीबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्नमात्र नभई गाउँकै युवा वर्ष माविलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रको रुपमा विकास र सहयोग गर्न आफूहरु कटिबद्ध रहेको बताए । शिक्षाले नै हरथोकको उन्नयन हुने भएकाले आफ्नो सहकारीले शिक्षालाई सामाजिक विकास, आर्थिक विकास र रुपान्तरणको मियो मानेर नै सक्दो लगानी गरेको जानकारी गराए । तालिममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक, विद्यार्थी, अनुगमन उपसमिति र शिक्षाप्रेमीलगायत चार दर्जन बढीको उपस्थिति थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्