बुटवल, १३ बैशाख ।
इन्धनमा चर्को मूल्यबृद्धि र भारतिय गाडीहरुको ओभर लोडले ढुवानी व्यवसायमा ठूलो असर परेको ब्यवसायीहरुले बताइएका छन । ढुवानी व्यवसायीहरुले सुदृढ र व्यवस्थित ढुवानी सेवाका लागि भाडामा एकरुपता तथा सेवामा इमानदारिता जरुरी रहेको बताउदै इन्धनको मुल्य बृद्धि अनुसार भाडा समायोजन हुन नसकेको गुनासो गरेका थिए ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीले आइतवार बुटवलमा आयोजना गरेको सम्मान तथा क्यालेण्डर विमोचन कार्यक्रमका अवसरमा बोल्ने बक्ताहरुले सो गुनासो गरेका हुन । उनीहरुले भ्याट ढुवानी क्षेत्रका लागि अव्यवहारिक मात्र होइन राज्यलाई राजश्व गुम्ने हतियार समेत बनेको तर्क गर्दै त्यसमा पुनरविचार गर्न आग्रह गरे ।
सो अवसरमा बोल्दै कार्यक्रमका ढुवानी व्यवसायी महासंघ, नेपालका केन्द्रीय अध्यक्ष माधव नेपालले ढुवानी व्यवसायमा लगाइएको भ्याटले साना व्यवसायी मर्कामा परेको हुदा त्यसमा पुनरविचार गर्न सरकारसंग आग्रह गरे । उनले ट्रक व्यवसायी र ढुवानी व्यवसायी नङ र मासु जस्तै सम्बन्ध भएको व्यवसाय भए पनि व्यवसाय सञ्चालनमा तालमेल मिल्न नसकेको हुदा त्यसमा रहेका कमीकमजोरीलाई हटाएर संगै अगाडी बढ्न सुझाव दिए ।
कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलका अध्यक्ष याम बहादुर जिसिले बर्तमान कठिन घडीमा ट्रक तथा ढुवानी क्षेत्रका नीतिगत र व्यवहारिक समस्याहरुको समाधान गर्न सरकारबाट समयमा नै ध्यान दिनुपर्ने बताए । व्यवसायलाई व्यवस्थित गर्न र उचित भाडाका लागि एक जुट भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा ढुवानी व्यवसायी समितिका निर्वतमान अध्यक्ष जितबहादुर भाट, समितिका अध्यक्ष अनिल श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शंकर लम्साल, सल्लाहाकार लोकराज पोखरेल, महासचिव उज्जवल केसी र सचिव झविन्द्र थापाले ढुवानी व्यवसायीसँग सम्बन्धित समस्याहरुलाई समाधान गर्न र व्यवसायलाई उपभोक्तामुखी बनाउने कुरामा गम्भिर बन्न आग्रह गर्दै भ्याटको समस्या समाधान गर्न महासंघलाई आग्रह गरे ।
सो अवसरमा पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित समितिलाई सम्मान गरिएको थियो भने ढुवानी समितिले प्रकाशन गरेको २०८३ सालको क्यालेण्डर विमोचन गरिएको थियो ।





















