काठमाडौं ।
निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीमाथि थप कडाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसहित पंकजबिक्रम नेम्बाङसहित २४ जनाको पासपोर्ट कालोसूचीमा परेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा उनीहरूको विदेश यात्रा अस्थायी रूपमा रोकिएको हो ।
खेलकुद मन्त्रालय स्रोतका अनुसार एन्फाको आर्थिक कारोबार बारे भइरहेको छानबिन प्रभावित नहोस् भन्ने उद्देश्यले सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको बताईन्छ । यसका लागि राखेपले कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको छ ।
राखेपका सदस्य सचिव रामचरित्र मेहताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्रका आधारमा छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । सोही क्रममा पदाधिकारीहरूको पासपोर्ट रोक्का गर्न राखेपले खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो । मन्त्रालयले गृह मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाएपछि अध्यागमन विभागले सम्बन्धित पदाधिकारीहरूको पासपोर्ट नियन्त्रणमा लिएको हो ।




















