Spread the love

बुटवल, १२ वैशाख ।
पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेयको उपचारका क्रममा भएको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले चिकित्सक डा. सतिस कुमार रुपाखेतीलाई निलम्बन गरेको छ । काउन्सिलका रजिस्टार डा. शतिसकुमार देवका अनुसार शनिबार बसेको अनलाइन बैठकले छानबिन समितिको सिफारिसका आधारमा अन्तिम प्रतिवेदन नआएसम्मका लागि डा. रुपाखेतीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

काउन्सिलले पाण्डेयको उपचारमा संलग्न जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिकलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ । साथै उपचारमा संलग्न अन्य स्वास्थ्यकर्मीमाथि पनि कारबाही सिफारिस गरिएको छ ।

प्रारम्भिक छानबिन प्रतिवेदन तयार भइसकेको भए पनि थप अनुसन्धान जारी रहने काउन्सिलले जनाएको छ । नेपाल प्रहरीको अनुसन्धानलाई समेत आधार मानेर आगामी निर्णय लिइने बताइएको छ ।

डा. देवका अनुसार चिकित्सकहरूको आचारसंहिता २०१७ अनुसार डा. रुपाखेतीलाई अस्थायी रूपमा बिरामी जाँच्न नपाउने गरी निलम्बन गरिएको हो । यस घटनाको छानबिनका लागि मेडिकल काउन्सिलका केन्द्रीय सदस्य डा. सम्राट पराजुलीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो। समितिमा प्राडा. पदमराज पन्त, डा. राजेन्द्र बस्याल, डा. अनुप पन्थी, अधिवक्ता गोविन्दप्रसाद मरासिनी र पत्रकार दिनेश पाण्डे सदस्य रहेका छन् ।

समितिले २६ पृष्ठ लामो प्रतिवेदनमा सम्बन्धित चिकित्सक र स्वास्थ्यकर्मीलाई कारबाही, स्वास्थ्य संस्था बन्द, नियमित अनुगमन तथा कानुनविपरीत सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको दर्ता र नियमन गर्नुपर्ने लगायतका सुझाव दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्