जुम्ला,११ वैशाख । जुम्लाका तीनवटा स्थानीय तहले आइतबार विद्यालय सञ्चालन गर्ने भएका छन् । जुम्लाका आठवटा स्थानीय तहमध्य कनकासुन्दरी, सिञ्जा र तातोपानी गाउँपालिकाले आइतबार विद्यालय सञ्चालन गर्ने भएका हुन् ।
गाउँपालिकाले सार्वजनिक सूचना मार्फत आइतबार पनि नियमित पठनपाठन जारी राख्ने र आफ्नै शैक्षिक क्यालेन्डरअनुसार शैक्षिकसत्र कार्यक्रम सुरु गर्ने जनाएको छ ।
सिञ्जा गाउँपालिकाले वैशाख ८ गतेदेखि पालिकाभित्रका सबै विद्यालयमा नियमित पठनपाठन सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।जिल्लाको कनकासुन्दरी गाउँपालिकाले वैशाख ७ गतेदेखि नियमित पठनपाठन सुरु गरेको गाउँपालिकाका कावाध्यक्ष प्रेमकली बुढाको भनाइ छ ।
नेपाल सरकारले शैक्षिकसत्र २०८३ का लागि वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो ।





















