काठमाडौं, ११ वैशाख । आज देशभर २०औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २०६२\६३ को जनआन्दोलनको सफलतापछि निरंकुश राजतन्त्र अन्त्यतर्फ धकेलिँदै लोकतन्त्र पुनस्र्थापना भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख ११ गते यो दिवस मनाउने गरिन्छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध सात राजनीतिक दल र नेकपा (माओवादी) सहितको संयुक्त आन्दोलन उत्कर्षमा पुगेपछि जनताको दबाबमा वैशाख ११ गते संसद् पुनस्र्थापना भएको थियो । सो घोषणाले नेपालमा लोकतन्त्र स्थापनाको नयाँ चरण सुरु गरेको मानिन्छ ।
पुनस्र्थापित संसद्को २०६३ जेठ ४ गतेको बैठकले राजसंस्थालाई निलम्बन गर्दै कार्यकारी अधिकार प्रधानमन्त्रीलाई सुम्पिएको थियो भने माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधानसभा निर्वाचन गर्ने मार्ग प्रशस्त गरेको थियो ।यसै प्रक्रियाबाट २०६४ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भई २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको औपचारिक अन्त्य भएको थियो ।
त्यसपछि २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई देश नयाँ राजनीतिक संरचनामा प्रवेश गरेको हो ।हाल संविधानअनुसार संघीय, प्रादेशिक र स्थानीय तहका सरकार सञ्चालनमा रहेका छन् । लोकतन्त्र दिवसलाई जनताको अधिकार स्थापित गर्ने ऐतिहासिक मोडका रूपमा लिने गरिन्छ ।





















