काठमाडौं,११ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती भत्काउन थालिएको घटनाप्रति खेद प्रकट गरेका छन् । साम्पाङले विज्ञप्ति जारी गर्दै गरिब तथा सुकुम्बासी नागरिकको बासस्थान बलपूर्वक हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।
साम्पाङले जनताको घर भत्काउने, उनीहरूलाई बेघर बनाउने, लखेट्ने, गालीगलौज गर्ने, लाठी, बुट र बन्दुक देखाएर त्रसित बनाउने कार्यलाई “राज्य आतंक” को संज्ञा दिदै घटना प्रति आपति जनाएका छन् ।
विज्ञप्तिमा दशौं वर्षदेखि विभिन्न स्थानमा बसोबास गर्दै आएका नागरिकले आफ्नो जीवनभरको कमाइ लगानी गरेर घर निर्माण गरेको उल्लेख गरिएको छ। त्यस्ता बस्तीमा विगतमा स्थानीय तह तथा राज्य संयन्त्रकै मौन स्वीकृति रहेको दाबी गर्दै अहिले उचित विकल्प बिना हटाउनु अन्यायपूर्ण हुने उल्लेख गरिएको छ ।
विज्ञप्तिमा सरकारले संविधानको धारा ३७ को उपधारा १ विपरीत नागरिकको आवासको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाइएको छ। साथै संविधानको धारा १६ को उपधारा १ मा उल्लेखित सम्मानपूर्वक बाँच्न पाउने अधिकारसमेत उल्लंघन भइरहेको दाबी गरिएको छ ।





















