चुरे, कान्छो पहाड हो । यसलाई शिवालिक पर्वत समेत भनिन्छ । एक करोड १० लाख वर्ष अघि बनेको पहाड र यसको भूगोल,समुद्री सतहदेखि दुई हजार एक सय मिटर उचाइँसम्म हुने भू–गर्भशास्त्रीहरु बताउँछन् । हामीले २०८३ सालको बुहानी भ्रमणको थालनी चुरे पहाडहरुमा बैसाख ७ गते, सोमवार विहान ८ वजेदेखि साँझ ६ वजेसम्म करिव १० घण्टा चक्कर लगाएर बिट मार्यौ ।
आर्थिक समृद्धिको झिल्को
भ्रमण नितान्त अवलोकनका लागि थियो । हाम्रो अवलोकन भ्रमणमा पर्यटन तथा होटल व्यवसायी माधव नेपाल, पत्रकार स्वस्तिक श्रेष्ठ, योग गुरुमा गमला नेपाल,उनकी नातिनी कायरा, साथी युवराज घिमिरे, चालक भाइ र मसमेत थियौं । बुटवलदेखि हिंडेको हाम्रो मोटरले सैनामैनाको वडा नं. १, वनकट्टानेरको वडा कार्यालयबाट उत्तरतिर बाटो ततायो । रानीबगिया माथिपट्टि सेनाको क्याम्पनिर सोधपूछका लागि क्षणभर रोकिएपछि तिनाउ गाउँपालिका वडा नं.१, को झिंगामारातिर मोटर उक्लियो । उक्त सैनिक एरिया कुनैबेला तत्कालीन माओवादीको क्यान्टोनमेन्ट थियो । यतिबेला नेपाली सेनाको तालिम सेन्टर बनेको छ ।
रानीबगियाबाट करिव ४५ मिनेटको उकालो,तर्पाएँ बाटो नापेपछि झिंगामारा रामपाटा गाउँ पुगियो । हामी त्यहाँ पुग्दा विद्यालय जान हतार गर्दैथिइन् स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक लक्ष्मी खड्का । उनलाई उनकै निवासमा भेट्यौं । विद्यालयमा पुग्ने गरी हामीले नयाँ वर्षको क्यालेण्डर र पुस्तक उपहार दियौं । अलि पर पुगेपछि तेजकुमारी तरामूको पसलमा टुसुक्क बसेर गिलासमा पानी खायौं । दिसा, पिसाव चर्पीमा बिसाएर निर्माणाधीन पौवा होटल हेर्न पुग्यौं । विकट गाउँमा बाटोले सुगमता ल्याउँदै गर्दा होटल, लज, रिसोर्ट खुल्दै जानु आर्थिक समृद्धिको झिल्को देखिनु हो । चुरे क्षेत्रमा ठूल्ठूला भवन बनाउँदा भू–क्षय हुने डर र अवस्थाले गर्दा होटल पनि चुरे क्षेत्र सुहाउँदो निर्माण हुँदै रहेछ । चुरे क्षेत्र सारै कमजोर हुन्छ । कुनै पनि भौतिक संरचना निर्माण गर्दा सारै बुद्धिमता निर्णय अनिवार्य हुन्छ । बाटोघाटो खोल्दा वा खन्दा सारै ख्याल गर्नुपर्छ । चुरेमा अति चरिचरन र वन डढेलो स्वीकार्य हुँदैन । यसले वर्षामास् भू–क्षय भई चुरेको माटो बग्ने सम्भावना बढेर जान्छ । तिनाउका सीमावर्ती चुरे क्षेत्रमा रहेका सामुदायिक वनहरुमा डढेलो नलागोस् र लागि हालेमा निभाउन सकियोस् भनेर अग्नि नियन्त्रण तस्ता गठन र परिचालन गरिएका छन् । समय अभावका कारण सोही दस्ताकी तिनाउ सचिव लक्ष्मी न्यौपानेसँग भेट्ने अवसर जुरेन । सोही दस्ताकी सदस्य तेजकुमारी तरामूसँग वन डढेलो र दस्ताको परिचालनसम्बन्धि छोटो कुराकानी गरियो ।
एकराते दहीमा रोटी डोब्दै…………..।
झिंगामारामा रहेको बौद्ध स्तूपा हेर्न अबेला भएकोले सरासर ठूलीउदाङ्ग नजिकै रहेको फोकेसाल गाउँ पुगियो । त्यतिबेला विहानको ११ बजिसकेको थियो । भोकले भोजन खोज्दै थियो । फोकेसाल नजिकै रहेको काठे प्रतिक्षालयमा भोजन गर्ने तयारी गरियो । गमला भाउजुले सुख्खारोटी,आलुभुजिया,ट्वाक्क नूनखुर्सानी, काँक्रा, एकराते दहीको राम्रो प्रवन्ध गरेको देख्दा दङ्ग परियो । खानेबेला ट्याक्टरले धूलो उडाउँदै घैयार गाउँबाट आयो । रोटीमा धूलो हल्का मिसाइयो । दहीमा रोटी डोब्दै र नूनखुर्सानीमा काँक्रा दलेर खानुको स्वाद विपत्तै मिठो लाग्यो । आलुको भुजिया पनि स्याम्मै पारियो । चारवटा रोटीले मेरो पेटको आयतन बढायो । स्वादको शिखर चुमायो । गमला भाउजुकी सानी नातिनी कायराले समेत दुईवटा रोटी पूरै तुरिन् । घरिघरि पत्रकार स्वस्तिक भान्से बन्थे । युवराजले नाइँनाई भनेपनि माधव दाइको अनुरोधमा एउटा रोटी घलुवा थपे । माधव दाइले ट्वाक्क जिभ्रो पड्काउँदा स्वाद कति मिठो थियो भनी बयान गर्नै पर्दैन । फोकेसालका किमबहादुर लाम्टाङ्गेसँग रोटी खाँदै गाउँका बारेमा लामै कुरा गरियो । उनलाई पनि काँक्रा र दहीले गमला भाउजुमार्फत् स्वागत गर्ने अवसर जुर्याे ।
स्वस्तिकले क्यामेरा तेर्साएर किमबहादुरसँग फोकेसाल गाउँको जनजीवन, विकास निर्माण, भविष्यको योजनाका बारेमा भिडियो वार्ता गरे । त्यसैमा उनले आफ्नो गाउँमा सिंचाइको अभावले,जग्गा भएरपनि तीनै खेती हुन नसकेको सुनाए । पशुपालनबाट जीवन गुजारिएको बताए । आफ्नो गाउँमा रहेको मगर संस्कृति,खानाको संरक्षण गर्नका लागि रैथाने होमस्टे सञ्चालन गर्ने योजना रहेपनि आर्थिक अभावले सञ्चालनमा अवरोध हुने हो कि भन्ने आशंका व्यक्त गरे । ग्रामीण विकासका जानकार युवराजले गाउँलेहरुको सार्थक सहभागितामा होमस्टे सञ्चालन सम्म्भव रहेको तर होमवर्क राम्रो गर्नुपर्नेमा सुझाए ।
लुुम्बिनी पर्यटन विकास परिषदका सदस्य समेत रहेका माधव दाइले समृद्धिका लागि होमस्टे सञ्चालन गर्न आवश्यक रहेको फोकेसाल गाउँमा सबैको सहयोग भएमा सम्भव हुने सुनाए ।
केहीवेर स्वस्तिकले मुस्कान पाण्डेयसँग स्वास्थ्य सेवाका बारेमा जानकारी लिए । उनी जनताको घरदैलोमा पुगेकी थिइन्, झोला भिरेर । मैले पनि रक्तचाप परीक्षण गर्दा १२०/९० एमएमएचजी रहेको थाहा पाएँ ।
ताल्चा ठोकिएका घरहरु…………….।
फोकेसालको अवलोकन भ्रमणपछि हामी धैयारतिर लाग्यौं । चिटिक्क मिलेको गाउँ,घरहरु आकर्षक तर केही घरहरुमा भोटे ताल्चा ठोकिएका थिए । सिसाका झ्यालहरु फुटेका थिए । तैपनि सुन्दर गाउँलाई आँखामा र मनमा सजाएर हामी तिनाउ–१ कचल,पश्चिमतिरको अन्तिम गाउँ घैयारलाई छाडेर रैनादेवी–छहरा गाउँपालिका वडा नं.७ को लौधुवापानी गाउँतिर लाग्यौं । उक्त गाउँ पुग्नुअघि बाटाभरि ऐंशैलु लटरम्म फलेका रहेछन् । टिप्दै खाइयो तर उपहारस्वरुप झाँङ्लाई रक्तदान गरियो । माधव दाइले ऐंशेलुको कहावत सुनाएँ । त्यता लौधुवापानी गाउँ पुगेपछि आँपको फेंदमा निःशुल्क एसी मिल्यो । केहीबेर त्यतै भुलियो । गमला भाउजुलाई हिड्नेबेलामा स्थानीय चिनजानका खड्का दाजुले सानोखाले टमाटर,आलु र पुदिना उखलेर जरै समेत उपहार अर्थात् कोसेली दिए ।
लौधुवापानी नजिकै घर रहेकी सुकमाया विक रैनादेवी छहरा गाउँपालिकाकी कार्यपालिका सदस्य हुन् । उनलाई फोन सम्पर्क गरियो । सैनामैनातिर झरेकी रहेछिन् । गाउँबाट हिडेर बल्ढेङ्गगढीको मौलाडाँडा पुगियो । हामीले चिया खाने प्रवन्ध गर्यौं स्थानीय कुटे चिया पसलतिर । माधव दाइले रैनादेवी छहरा वडा नं. ७ को वडा कार्यालयतिर पाइला चाले । हामीले पनि वडाध्यक्ष,वडा सदस्य र कर्मचारीसँग भेटघाट गरियो । स्वस्तिकले वडाध्यक्षसँग भिडियो अन्तर्वार्ता गरे । युवराज र मेरो फोटो, वडा कार्यालय अघि स्वस्तिकले खिचिक्क पार्दिए । वडाध्यक्षले चुरेको कारण हिउँदभर निर्माण गरिएका बाटाघाटा र भौतिक संरचनाहरु प्रायजसो वर्षामासमा नामोनिसान समेत नभेटिने बताए ।
सोही गाउँबाट गहतेका कुलबहादुर खड्का दाइलाई मोबाईल गरियो । उनी खेततिर रहेछन् । घरमा भेट्ने अवसर नजुरेपछि गहते गाउँतिर नजाने निर्णय गरियो । सरासर हामी सुकादमारहुँदै सत्यवतीको बुढीदमार पुगियो वडा कार्यालयमा । वडाध्यक्ष रेमबहादुर रानासँग कृषि स्मार्ट भिलेजका बारेमा चर्चा गरियो । चुरे क्षेत्रमा पर्ने उक्त गाउँमा कृषि उत्पादन राम्रो भएपनि बजार नजिक नभएको कारणले किसानहरु आजित भएको सुनाए । वेमौषमी तरकाकरी खेती गर्ने किसानहरुले उत्पादनको उचित बजार र मूल्य नपाउँदा निराश र अल्छी बन्दै गएको वडाध्यक्ष रानाले बताए । सुकादमार र सत्यवतीका बुढीदमारलगायतका गाउँहरु दालचिनीको राजधानीनै मान्न सकिन्छ । चुरे क्षेत्रमा फस्टाउँदा खेती भनेकै दालचिनी, हलेदो, केरा हुन् । यिनीहरुको उचित बजार र बजारीकरण हुन सकेमा चुरे क्षेत्रका बासिन्दाहरुको जीवस्तर आकासिने थियो । अहिले पनि देशभरि चुरे क्षेत्रमा करिव ५० लाख जनसंख्याको बसोबास छ । उनीहरुका आम्दानीको स्रोत भनेकै नगदेबाली हुन् ।
रेमबहादुरका रकमी कुरा ……….।
तीनै तहका सरकारले चुरे क्षेत्रका स्थानीय किसानहरुसँग बसेर उचित योजना निर्माण गरी कार्यान्वयन गर्न सकेमा उत्तम हुने थियो । पानीचौर गाउँमा फूलैफूलका रहर लाग्दा घरहरु देखिए । गाउँमा ज्ञानोदय आधारभूत विद्यालय रहेछ । स्वास्थ्य चौकी भएपनि बिरामीहरु प्रायः तराईतिर उपचार गर्न जाने कुरा वडाध्यक्षले सुनाए । रेमबहादुरसँग विदा मागेर कच्चीबाटो ओरालियौं ।
रुपन्देहीको सालझण्डी झिमझिमियाँ बजार आइपुग्दा साँझको साढेपाँच बज्दैथियो । निर्माणधीन मार्गले एकछिन अल्मलायो । बुटवलको न्यू ईरा होटल आउँदा साँझको ६ बज्यो । जिउ त हलेदो खाने भएपनि माधव दाइको अनुरोधमा खुदो मिश्रित कालो चियामा पाउरोटी डोबेर खाइयो । हिड्नेबेला दाइले आलु र सानोखाले गोल्भेडा स्नोपहार प्रदान गरे । हामी पनि मानमाथि भुक्तमान भनेझैं ,दाइभाउजु आफूहरुले पाएको कोसेली पनि फेरि हाम्रा लागि कोसेली बने । उदार मनका माधव दाइ र गमला भाउजुसँग अवलोकन भ्रमण र यात्रा गर्न पाउँदा धन्यवाद् नदिइरहन सकिएन । कोसेली बोकेर हामीहरु आ–आफ्ना निवासतिर हुँइकियौं ।
चुरे क्षेत्रको अवलोकन भ्रमणबाट १० घण्टामा सोचेभन्दा धेरै जानकारी प्राप्त भयो । चुरेलाई जोगाउन नसक्दा तराई,मधेश मरुभूमिकरण हुन सक्ने भूगर्भशास्त्रीहरुको अनुमान छ । चुरेमा भौतिक तथा विकास निर्माणको अत्यधिक चापलाई न्यूनीकरण गर्न नसकिएमा ठूलो क्षति हुन सक्ने छ । चुरेको संवेदनशीलतालाई बेलैमा बुझ्न र बुझाउनु पर्नेछ । यसो भएमा कमलो पहाड चुरेको संरक्षण सम्भव छ ।





















