बुटवल, ५ बैशाख ।
तिनाउ गाउँपालिका पाल्पामा दालचिनी, तितेपाती, मेन्था, टिमुर, अदुवा, हलेदोलगायतका जडिबुटी उत्पादन हुन्छ । वर्षेनी करोडौको जडिबुटी बिक्री गर्ने यहाँका किसान पछिल्लोसमय भने उचित मूल्य र बजार नपाउँदा पीडामा छन । दालचिनी बाक्रा भारत निकासी ठप्प छ । ठूलो परिणाममा रोकिएको छ । यस्तो बेला यहाँका किसानहरु विकल्प खोज्न लागेका छन ।
सामुदायिक वनमा पाईने जडिबुटीहरुको अध्ययन, खोज, संरक्षण,बजार,बजारीकरण र लाभलागत मूल्यांकन गर्ने अभियानका साथ उनीहरु ४ दिने कार्यशाला थालेका छन । फोरेष्ट एण्ड फार्म फेसिलिटि र सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहयोगमा जडीबुटी संरक्षण तथा उपयोगी सहकारी संस्था लिमिटेडको आयोजनामा पाल्पा,तिनाउको झुम्सामा शनिबारदेखि सहकारी तथा सामुदायिक वनका पदाधिकारीहरुसँग ४ दिने कार्यशाला थालिएको हो ।
नेपालको मौलिक विशेषता बोकेका जडिबुटीहरुको पहिचान, संरक्षण र उद्यमशीलतामार्फत् अर्थ उपार्जनमा योगदान दिने लक्ष्यसहित कार्यक्रम गरिएको परियोजना संयोजक अनन्त सिलवालले बताए । नेपाल जडिबुटीको लागि उर्वरभूमिभएको भएको भन्दै यसको बजारीकरणमा ध्यान दिन जरुरी रहेको उनको तर्क छ । फाम एण्ड फोरेष्टको सहयोगमा निकट भविष्यमा नै तेल उत्पादन गर्ने मेशिन ल्याउने तयारी रहेको भन्दै उनले ब्यवसायिक रुपमा काम अघि बढाउन लागेको बताए ।
तालिममा संरक्षणकर्मी दलबहादुर गुरुङ, ग्रामीण विकास विज्ञ युवराज घिमिरे, कविराज प्रेमबहादुर सोमै मगरले जडिबुटीमा सम्भावना, बजारीकरण तथा ब्यवसायिक चक्र, प्याकेजिङ, लेबलिङ, ब्राण्डिङ लगायतका बारेमा प्रशिक्षण दिने छन ।
जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडका अध्यक्ष गोबिन्दप्रसाद पाण्डेले सामुदायिक वन र सहकारीको अन्तरसम्बन्ध बढाउने र उत्पादनमा जोडने गरि अभियान अघि बढाईएको बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार माधवप्रसाद नेपालले मानव जीवनमा सिकाई कहिलै अन्त्य नहुने भन्दै यसलाई निरन्तर अघि बढाउनुपर्ने बताए । सरोकारवालाका लागि उपयोगी उत्पादन विविधिकरण, ब्रान्डिङ, लेबलिङ र बजार सम्बन्ध स्थापना गर्दै दालचिनीको मूल्य बढाउन तालिम फलदायी हुनेमा आशावादी रहेको उनले बताए ।




















