बुटवल, २ बैशाख ।
ऐतिहासिक र सामरिक महत्व बोकेको पाल्पाको नुवाकोटलाई ‘पर्यटन गाउँ’ घोषणा गर्न ढिलाई भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले सुझाव दिएका छन । पर्यटन गाउँको अवधारणाले सरकार र नीजि क्षेत्रको लगानीसंगै पर्यटक बृद्धि हुने सम्भावना रहेको हुदा पनि घोषणामा ढिलाई गर्न नहुने उनिहरुको तर्क छ । पछिल्लोसमय सरकारीबाट पूर्वाधार विकाससंगै नीजि क्षेत्रको समेत लगानी बढेको स्थानिय अगुवाहरु बताउछन ।
नुवाकोट विकास समितिको आयोजनामा प्रथम नुवाकोट महोत्सव २०८३ अन्तरगत बुधबार भएको नुवाकोटको विकास र सम्भावना पर्यटन गोष्ठीमा बोल्ने बक्ताहरुले नुवाकोट पर्यटनको राम्रो सम्भावना बोकेको बताए । यहा रहेका ऐतिहासिक स्थलहरुलाई संरक्षण र प्रचारप्रसार गर्दै अघि बढ्नुपर्नेमा उनिहरुले जोड दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका ग्रामिण विज्ञ युवराज घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै नुवाकोटको विकास र सम्भावनालाई १३ बुदे कार्यपत्र प्रस्तुत गर्दै यहाको ऐतिहासिकता र पर्यटनको सम्भावनाबारे प्रकाश पारे । नुवाकोट विकास समितिको स्थापना र पर्यटन विकासको इतिहास उनले बताए । नीजि क्षेत्रको लगानीमा निमार्ण भएको सिद्धार्थ केवलकार प्रालि संचालन आएसंगै पर्यटकको संख्यामा वृद्धि भएको उनले बताए । बिसं २०८१ साल भाद्र १९ देखि अहिलेसम्म ४ लाख पर्यटक भित्रिएका छन । नुवाकोटमा वार्षिक ७ लाख भन्दा बढी पर्यटक भित्रने गरेको छ । पर्यटन पूर्वाधार, सार्वजनिक सवारीको सहजता, बेलाबेलामा मेलामहोत्सव, राष्ट्रिय र क्षेत्रिय गोष्ठीहरु संचालन गर्नसके पर्यटकको संख्यामा वृद्धिसंगै पर्यटनमा छलाङ मार्ने सम्भावना रहेको उनको बताए । हाल नुवाकोटमा २३ वटा साना तथा ठूला होटलहरु संचालनमा छन ।
कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षा तथा पर्यटनविद् दल बहादुर गुरुङले निक्कै उत्कृष्ट कार्यपत्र तयार भएको भन्दै यसलाई आधारपत्रका रुपमा अघि बढाउन सुझाव दिए । नुवाकोटलाई ‘पर्यटन गाउँ’ घोषणासंगै नजिकका अन्य गाउहरुलाई समेत समेट्नुपर्ने उनले बताए । नुवाकोटको पूर्वाधार विकासमा मानविय विकासलाई जोड्न उनले आग्रह गरे ।
कार्यक्रममा तिनाउ गाउपालिकाका पूर्व वडाअध्यक्ष राजेश श्रेष्ठले पर्यटक गन्त्वयका रुपमा विकास गर्न ईनार, काठेगढी दरबार संरक्षण गर्ने, यहा संचालन भएका होटलहरुमा मुल्यसुचि राख्ने तर्फ ध्यान दिन सुझाव दिए । काठेगढी नजिक एङलो नेपाल वारको ईतिहास बुझाउने गरि पूर्वाधारको काम अघि बढेपनि त्यो अलपत्र परेको उनले बताए । नुवाकोटबाट बल्डेङगढीसम्मको ३९ किलोमिटरसम्मको पैतलमार्गलाई जोड्ने कामलाई अघि बढाउनुपर्छ । बुटवलदेखी नुवाकोटसम्म गोरेटो बाटोमार्फत जोड्ने समेत जरुरी रहेको उनले बताए ।
कार्यक्रममा समितिका संस्थापक अध्यक्ष भोज प्रसाद श्रेष्ठ, तिनाउ गाउपालिकाका वडा नं २ का वडा अध्यक्ष यादव अर्याल, नेपाल उद्यान महासंघका अध्यक्ष खेम लुईटेल, सिद्धार्थ केवलकार प्रालिका अध्यक्ष राजेन्द्र सिह गुरुङ, समितिका अध्यक्ष पिएल श्रेष्ठ, कार्यक्रममा संयोजक माधव प्रसाद नेपाल, समितिको सदस्य हरिकला कुमालले पर्यटकलाई लामोसमय बस्ने वातावरण सृजना हुने गरि पूर्वाधार विकासमा जोड दिन जरुरी रहेको बताए ।


















