बुटवल, ३० चैत्र । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक व्यवसायीहरुलाई परिरहेको समस्याका बारेमा गम्भिर बन्दै भाडादर तोकेर सार्वजनिक गर्न पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय, बुटवललाई व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् ।
व्यवसायीहरुले समितिको कामलाई पारदर्शी र मितव्ययी बनाउदै व्यवसायीहरुको संरक्षणमा अगाडी बढ्नका लागि आग्रह गरेका छन् । ट्रक व्यवगसायी पंकज राईको नेतृत्वमा सोमवार अध्यक्ष यमु जिसीलाई इन्धनको मूल्यवृद्धि अनुसार ढुवानी भाडादरसहित विभिन्न विषयमा ध्यानार्कषणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा अधिवेशनबाट निर्वाचित भएको बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समितिमा आवद्ध ट्रक व्यवसायी र त्यसमा आश्रीत स्वरोजगार मजदुरहरुको हकहितमा केन्द्रित रहेर राज्यको कानुनको पालना गर्दै अगाडी बढ्न आग्रह गरिएको छ ।
पत्रमा समितिको काममा निरन्तर निगरानी गरिरहने उल्लेख गर्दै समितिको कामलाई पारदर्शी र मितव्ययी बनाउदै व्यवसायीहरुको संरक्षणमा अगाडी बढ्न सचेत सुझाव दिएको जनाइएको छ ।
ध्यानाकर्षण पत्र बुझाएपछि इन्धनको मूल्यबृद्धिसंगै बढ्दो खर्चहरू धान्न नसक्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै मूल्यबृद्धिले ढुवानी सेवा प्रवाहमा समस्या उत्पन्न हुनुका साथै आपूर्ति प्रणालीमा समेत अवरोध आउन सक्ने भन्दै सचेत पनि गराइएको राईले बताउनु भयो ।


















