भैरहवा, २९ चैत्र ।
भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा बुद्ध क्रिकेट क्लब ‘ए’ डिभिजनमा उक्लिएको छ । ‘बी’ डिभिजनको आइतबारको खेलमा साई ग्लोबल क्रिकेट क्लबलाई ८ विकेटले हराउँदै बुद्ध ‘ए’ डिभिजनमा बढुवा भएको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साई ग्लोबलले २५ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ९० रनको झिनो लक्ष्य खडा गर्यो । उसलाई सस्तैमा रोक्न बुद्धका अनुज चौहानले ७ ओभर ३ बलमा ३ मेडनसहित ११ रन खर्चेर महत्वपूर्ण ६ विकेट हात पारे । यस्तै, प्रवेज आलमले २ तथा सुरज गुरुङले १ विकेट लिए । साई ग्लोबलका अजय चाईले ३३, बासुदेव यादवले १५ र जितेन्द्र केवटले १० रन बनाए ।
जवाफी ब्याटिङ गरेको बुद्धले १४ ओभर १ बलमा २ विकेटको नोक्सानीमा ९३ रन बनाउँदै सहजै जित निकालेर ‘ए’ डिभिजनमा बढुवा भयो । उसको जितमा सुरज पौडेलले अविजित ५३ र साहिल पटेलले १७ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका जितेन्द्र केवटले २ विकेट लिए । खेलमा अनुज चौहान प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए ।





















