काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधिको मूल्यवृद्धि सम्बन्धी विषयमा छानबिन गर्न समिति गठन गरेको छ । समितिमा अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ संयोजक तथा सदस्यमा कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र औषधि व्यवस्था विभागका कविन मल्ल रहेका छन् ।
औषधि व्यवस्था विभागका महानिर्देशकबाट प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधीको मूल्यवृद्धि गरेको उजुरी आएपछि छानबिनका लागि समिति बनाइएको मन्त्रालयको कर्मचारी प्रशासन शाखाबाट जारी पत्रमा उल्लेख छ ।
समितिलाई औषधिको मूल्य निर्धारण प्रक्रिया के कसरी भएको हो, प्रक्रिया पूरा गरिएको हो वा होइन, र यसमा अनियमितता भए/नभएकोबारे छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको छ । समितिलाई आवश्यकताअनुसार अन्य विज्ञ तथा कर्मचारीहरूलाई आमन्त्रण गर्ने अधिकार समेत दिइएको मन्त्रालयले जनाएको छ।






















