बुटवल, २८ चैत ।
बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा देवदह ब्वाईज फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा देवदहले मोनष्टर गाईज, सुनवललाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदाबी पेश गरेको हो ।
सिद्धेश्वर खेलमैदानमा देवदहको जितमा दुवै गोल एरोन थापाले गरे । एरोनले खेल शुरु भएको सातौं मिनटमा पहिलो गोल र पहिलो हाफ कै इन्जुरी समयमा दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । देवदहको जितमा नायक बनेका एरोन थापा नै म्यान अफ दि म्याच बने । प्रतियोगिता अन्तर्गत चैत्र २८ गते शनिबारको दोस्रो सेमिफाइनल खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र कपिलवस्तु–११ बीचको विजेतासंग देवदहले फाईनल खेल्नेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।




















