बुटवल, २३ चैत ।
सिद्घार्थ गौतम बुद्घ क्याम्पसको ३४ औ वार्षिकोत्सव विविध कार्यक्रम गरि मनाईएको छ । क्याम्पसको सप्ताहब्यापी कार्यक्रम अन्तरगत भएका खेलकुद प्रतियोगिताका विजेता, उत्कृष्ट विद्यार्थी, शिक्षक सम्मान तथा शुभकामना आदानप्रदान गरि सोमबार वार्षिकोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै तत्कालिन समयमा क्याम्पसको महसुस गरि शैक्षिक ब्यक्तित्वहरुको अगुवाईमा खोलिएको स्मरण गरे । जग्गाप्राप्तिदेखि भवन स्थापनासम्मको ईतिहास सुनाउदै समुदायस्तरमा संचालन भएको कलेज भएको बताए । शिक्षासंग संस्कार, खेलकुद, भौगोलिक पहिचान, ब्यहारिक शिक्षाको विषय उठान भैरहेको बेला यसप्रकारको लगानी स्थानिय सरकारबाट भएको उनले बताए । देशभरिमै सबैभन्दा धेरै २७ प्रतिशत बजेट बिनियोजन भएको उनले बताए । कक्षा १२ सम्म विधालयको जिम्मेवारी स्थानिय पालिकामा भएअनुसार नै लगानी र विकास गरिरहेको उनले बताए । बजेटकै कारण शैक्षिक संस्थालाई समस्या नपर्ने उनले दाबी गरे ।
कार्यक्रममा क्याम्पस प्रमुख गोपाल चापागाईले समुदायको सहकार्यमा गुणस्तरीय शिक्षालाई जोड दिएर सामुदायिक क्याम्पसमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । यसैबिच वार्षिकोत्सवको अवसरमा अवकास प्राप्त प्राध्यापक रमेशचन्द्र पाण्डे र कर्मचारी सत्यनारायण चौधरीलाई दोसल्ला र कदरपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा क्याम्पसको वार्षिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विधार्थीहरुलाई समेत सम्मानपत्रबाट सम्मान गरिएको थियो। यसैगरि विधार्थीहरुले सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा नं ५ का वडाअध्यक्ष हरिप्रसाद श्रेष्ठले शिक्षासंगै खेलकुद गतिविधिमा क्याम्पसको अग्रसरता उदाहरणिय रहेको भन्दै क्याम्पसको श्रीवृघ्दिका लागि सधै अग्रसर रहने बताए । कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष निर्मल लाकौल, सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद खनाल, रामनाथ उपाध्याय,पब्लिक प्राध्यापक संघका श्रीवास्तव नेपालले समयको माग अनुसार नै शिक्षा दिन क्याम्पस सफल रहेको बताए ।
क्याम्पसमा यो वर्ष ७३५ जना नया भर्ना भएको छन भने कुल १९३५ जना विधार्थीहरु अध्ययरत छन । क्याम्पसमा ब्यवस्थापन, शिक्षा विषयमा कक्षा ११,१२ देखि ब्याचलर र मास्टरसम्म अध्ययापन हुदै आएको छ ।





















