बुटवल ।
रातीको समयमा मोटरसाईकल पड्काउदै ध्वनी प्रदुषण गरेको गुनासो बढेपछि यसलाई रोक्न बुटवलमा प्रहरीले विशेष अभियान थालेको छ । शनिबारदेखि प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट’ नाम दिएर विशेष अभियान थालेको हो । बुटवल कालिका पथमा शनिबार राती ९ बजेदेखि प्रहरीले चलाएको अभियानमा स्वरुप परिवर्तन गरिएका ध्वनी प्रदुषण गर्ने करिब २ दर्जन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
चर्को स्वरमा आवाज निकाल्ने स्वरुप परिवर्तन गरिएका मोटरसाइकल तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गर्ने उद्देश्यसहित अपरेसन सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय बुटवल प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
दिनभर काम गरेर आराम गर्ने समयमा मोटर साइकलको चर्को स्वरका कारण समस्यामा परेका धेरै गुनासो आएको उनले बताए । साथै दुर्घटनाको जोखिम बढिरहेको बेला यो अभियानबाट थोरै भएपनि कम हुने उनले बताए ।
प्रहरीले शनिबार राती ९ बजेदेखि सञ्चालन गरिएको अभियानमा २ घण्टामै करिब २ दर्जन मोटरसाइकल नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई कानुनी प्रक्रिया अनुसार कडा कारबाही गरिने प्रनाउ श्रीवास्तवले बताए । यो अभियानलाई निरन्तरता दिँदै बुटवलका अन्य क्षेत्रमा समेत सर्च अभियान सञ्चालन गरिने उनले बताए । बुटवलमा यसअघि पनि स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने मोटरसाइकल सर्च तथा कारबाही अभियान सञ्चालन गरेको थियो ।



















