भैरहवा, १९ चैत्र ।
रुपन्देहीमा जारी २४ औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको खेलमा बुद्ध क्रिकेट क्लब विजयी भएको छ । बिहीबार भएको खेलमा बुद्ध क्रिकेटले शंकरनगर क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै जित निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको शंकरनगरले ३० ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा ८३ रनको झिनो योगफल बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा बुद्धका नितेश पटेलले ४, अजय त्रिपाठीले २, सुरज गुरुङ, प्रवेज आलम अन्सारी र हरिकेष मुराउले समान १–१ विकेट लिए । शंकरनगरका रुपेश बस्यालले २१ र सुशान्त सुवेदीले १५ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको बुद्धले १४ ओभर १ बलमा ५ विकेट गुमाएर ८५ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा सुरज पौडेलले २२, अमित अग्रहरीले २१ र अनुज चौहानले अविजित १७ रनको योगदान गरे । बलिङमा शंकरनगरका शिशिर लुईंटेलले ३ तथा विपिन भट्टराई र रुपेश बस्यालले १–१ विकेट लिए । खेलमा नितेश पटेल प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद एक लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान पाँच हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागिता छ ।




















