बुटवल, १९ चैत ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५औं वार्षिक साधारण सभा तथा १४औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। बुटवलमा चैत २० र २१ गते हुने अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाका सबै तयारी सम्पन्न भएको जानकारी दिँदै बाहिर जिल्लाबाट अतिथि तथा प्रतिनिधिहरू आउने क्रम सुरु भएको बताए । उनले यसपटक नेतृत्व चयन खुला र लोकतान्त्रिक प्रक्रियामार्फत हुने उल्लेख गर्दै आफ्नो कार्यकाल सफल बनाउन विभिन्न क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।
अधिवेशन नजिकिँदै जाँदा नेतृत्वका लागि चुनावी सरगर्मी पनि बढेको छ । नयाँ नेतृत्वका लागि कम्तीमा तीन जनाले आकांक्षा व्यक्त गरेका छन् । यद्यपि निर्वाचन कार्यतालिका सार्वजनिक नभएकाले आधिकारिक उम्मेदवारी दर्ता भने सुरु भएको छैन । निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेका अनुसार कार्यतालिका छिट्टै सार्वजनिक गरिनेछ ।
सामाजिक सञ्जालमा सार्वजनिक विवरणअनुसार पूर्व वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीको नेतृत्वमा एक प्यानल घोषणा गरिएको छ । उक्त प्यानलले आफूलाई अनुभवी, समावेशी र व्यवसायी–मजदुरको हितमा काम गर्ने साझा समूहका रूपमा प्रस्तुत गरेको छ ।
यस्तै, व्यवसायिक हकहितका लागि युवा नेतृत्व आवश्यक रहेको दाबी गर्दै याम बहादुर जिसीको नेतृत्वमा अर्को प्यानल पनि अघि आएको छ । त्यसैगरी १४ बुँदे प्रतिबद्धतासहित युवा व्यवसायी पंकज राईले अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन् ।
वर्तमान अध्यक्ष टीकाराम गौतम, वरिष्ठ उपाध्यक्ष कमल घिमिरे र कोषाध्यक्ष शंकर लम्साल आगामी नेतृत्वका लागि प्रतिस्पर्धामा नरहने जनाइएको छ । महासचिव खिमबहादुर थापा नारायण कार्की नेतृत्वको प्यानलमा पुनः महासचिवमा रहने संकेत देखिएको छ भने जिसी समूहबाट वर्तमान सचिव बसन्त खड्काले महासचिवमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ । समितिको १३ पदाधिकारी र ११ कार्यसमिति सदस्यसहित कुल २४ पदका लागि निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिनेछ । समितिमा करिब २ हजार ट्रक र १ हजार २ सय व्यवसायी आबद्ध रहेका छन ।




















