काठमाडौं, ९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा नेपाली मूलका नागरिक तथा गैर आवासीय नेपालीहरूका लागि छुट्टै डेस्क राखिने भएको छ। अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै उक्त व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
लामो समयदेखि एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले यस मागलाई उठाउँदै आएको थियो। अब यस निर्णयसँगै विदेशमा रहेका नेपाली मूलका नागरिकलाई सेवा लिन थप सहज हुने विश्वास गरिएको छ । एएनओका अध्यक्ष डिल्ली अधिकारीले जारी गरेको विज्ञप्तिमा गृह मन्त्रालयको यस निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूलाई सम्मानित भएको महसुस गराएको उल्लेख गरिएको छ।
साथै, विज्ञप्तिमार्फत गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह प्रशासनप्रति धन्यवाद ज्ञापन गरिएको छ । नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि विमानस्थलमा सेवा प्रवाह अझ व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।




















