Spread the love

बुटवल, ६ चैत ।

अक्सवृज इन्टरनेश्नल एकेडेमीमा पोषणसम्बन्धी सचेतनामुलक प्रदर्शनी गरिएको छ । एकेडेमीको ल्याब दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शुक्रबार सचेतनामूलक खानाका परिकारसहित प्रदर्शनी गरिएको हो ।

एक समारोहका बिच एकेडेमीका म्यानेजिङ डाइरेक्टर डीपी खनालले उद्घाटन गर्दै पाठ्यक्रममा रहेका विषयलाई व्यवहारमा उतार्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताए । उनले यस अभियानलाई आगामी दिनमा समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता जनाउँदै जीवनशैली र खानपान सुधार गर्न सके धेरै रोगबाट बच्न सकिने बताए । साथै प्राविधिक शिक्षालाई प्रवद्र्धन गर्न सरकारको नीतिगत सहयोग आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदर्शनीमा पाँच समूहले पाँचवटा स्टलमार्फत विभिन्न पोषणका उपयुक्त खानपानबारे जानकारी प्रस्तुत गरेका थिए । मधुमेहसम्बन्धी स्टलमा विद्यार्थी दुर्गेस प्रसाद यादवले खानाको पिरामिड तयार गरी सन्तुलित आहारको महत्वबारे जानकारी दिएका थिए । उनले मधुमेहका बिरामीले खानपानमा ध्यान दिए समस्या नियन्त्रण गर्न सकिने उल्लेख गर्दै बिहानको सामान्य नास्तादेखि दिउसो खानामा दालभात, साग, सलाद र रोटी जस्ता परिकार उपयुक्त हुने बताए ।

त्यसैगरी मृगौला रोगसम्बन्धी स्टलमा विद्यार्थी अक्षिता थापाले बिरामीले चिल्लो, पिरो, अचार र जंक फुडबाट टाढा रहनुपर्ने सुझाव दिइन् । उनले मृगौलाको बिरामीलाई बोईल खाना, फ्राई सब्जी, स्ट्राबेरी, रोटी र फर्सी जस्ता परिकार लाभदायक हुने जानकारी गराइन् ।

प्रदर्शनीमा बालबालिकाको वृद्धि विकास, आमाको पोषण तथा शरीरका लागि आवश्यक कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल, फाइबर र फ्याटसम्बन्धी पोषण योजना समेत प्रस्तुत गरिएको थियो । प्रधानाध्यापक निश्चल श्रेष्ठका अनुसार एकेडेमीमा हाल ल्याब, एचए, सिभिल र एग्रिकल्चर विषयमा अध्ययन हुँदै आएको छ ।

भिडियो रिपोर्ट

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्