काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । अध्यक्ष राउतले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका मुद्दामा संघर्ष भने निरन्तर जारी राख्ने सामाजिक संजालमा लेखेका छन् ।
उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनअधिकारका लागि संघर्ष निरन्तर जारी रहने बताएका छन् । साथै आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनसेवामा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
राउतले आफ्नो व्यक्तिगत चाहनाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र अर्को पटक हार व्यहोरेको उल्लेख गरेका छन् ।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कुनै पनि तरिकाले उम्मेदवार नबन्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहमा अन्ततः चुनाव लडेको उनले उल्लेख गरेका छन् । सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय दलको हैसियत हासिल गरेको उनको दाबी छ ।
राउतले २०८२ को निर्वाचन नलड्ने निर्णय पहिले नै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेता–कार्यकर्ता निराश नहुन् भन्ने उद्देश्यले फेरि उम्मेदवारी दिएको दाबी गरेका छन् । परिणामपछि पनि सहकर्मीहरूको सल्लाहअनुसार चुनाव लड्ने निर्णय सही भएको महसुस भएको उनको भनाइ छ।




















