बुटवल, ३ चैत । बुद्धको जन्मस्थल लुम्बिनीमा पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु) लाई प्रवज्या प्रदान गरिएको छ । विश्वभरका बौद्ध अनुयायी तथा आध्यात्मिक पर्यटकका लागि विशेष महत्व बोकेको यस धार्मिक कार्यक्रममा सोमबार मायादेवी मन्दिर परिसरमा बौद्ध धर्मगुरुहरूले पहेँलो चीवर प्रदान गर्दै उनीहरूलाई श्रामणेरका रूपमा दीक्षित गरेका हुन् ।
अखिल नेपाल भिक्षु महासंघ र थाई भिक्षु महासंघको आयोजनामा तथा लुम्बिनी विकास कोष सहित विभिन्न संस्थाहरूको सह–आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष महास्थविर धम्म शोभन र थाई धम्मदूत फ्रा ब्रह्मवजिर पोथिवोंगलगायत बौद्ध धर्मगुरुहरूले श्रामणेरहरूलाई चीवर प्रदान गर्दै आध्यात्मिक मार्गमा अग्रसर हुन प्रेरित गरेका थिए ।
प्रवज्या ग्रहण गरेका श्रामणेरहरूले अब पहेँलो चीवर धारण गरी बुद्ध धर्मका दश शील (१० नियम) पालना गर्नेछन् । सामान्य अनुयायीहरूले पञ्चशील वा अष्टशील पालन गर्ने भए पनि श्रामणेरहरूले बौद्ध विनयअनुसार अनुशासित जीवनशैली अपनाउनुपर्ने हुन्छ । पूर्ण भिक्षु बन्नका लागि भने २२७ वटा नियम पालना गर्नुपर्ने बौद्ध परम्परा रहेको छ ।
फागुन २६ गतेदेखि सुरु भएको प्रवज्या कार्यक्रम आगामी चैत १७ गतेसम्म सञ्चालन हुनेछ। चीवर धारण गर्न योग्य बनेका श्रामणेरहरूले यस अवसरलाई आफ्नो जीवनको महत्वपूर्ण आध्यात्मिक अनुभवका रूपमा लिएको बताएका छन्। आयोजकका अनुसार उनीहरूलाई पञ्चशील, अष्टशील, विनयपिटकबारे प्रशिक्षण दिइनुका साथै दैनिक ध्यान अभ्यास पनि गराइनेछ ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा आयोजना गरिने यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिले बुद्धका शिक्षा र बौद्ध धर्मको प्रचार–प्रसारमा टेवा पु¥याउनुका साथै नेपालमा आध्यात्मिक तथा धार्मिक पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ लगायत स्थानीय जनप्रतिनिधि, बौद्ध भिक्षु, श्रद्धालु तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।






















