रोल्पा, १ चैत — रोल्पामा प्रहरीले अफिम खेती नष्ट गरेको छ। जिल्लाको पश्चिम क्षेत्रमा पर्ने परिवर्तन गाउँपालिका–४ तातोपानीमा शनिबार प्रहरीले अफिम खेती फेला पारी नष्ट गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री तथा जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त अफिम खेती नष्ट गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको ७ जनाको टोली र इलाका प्रहरी कार्यालय पाछाबाङबाट खटिएको ७ जनाको टोलीले अभियान सञ्चालन गरी करिब ७ सय बढी अफिमका बोट नष्ट गरेका हुन् ।
सोही स्थानमा अफिम खेती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परिवर्तन गाउँपालिका–४ तातोपानीका ६० वर्षीय धनसिंह वली रहेका छन् । उनलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


















