काठमाडौं, १ चैत । आजदेखि देशभर ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म उक्त सप्ताह मनाउँदै आएको हो ।
‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नारासहित सुरु गरिएको सप्ताह वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइँदै आएको मन्त्रालयले जनाएको छ ।
सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यममार्फत सूचना प्रवाह लगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।यसका साथै जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।


















