मणिग्राम, २८ फागुन।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पस ३८ औँ वर्षमा प्रवेश गरेको छ। क्याम्पसले वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै उत्सव मनाइरहेको छ।
क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीका अनुसार वार्षिकोत्सवको मुख्य कार्यक्रम फागुन २९ गते आयोजना गरिनेछ। वार्षिकोत्सवको अवसरमा खेलकुद प्रतियोगिता, शैक्षिक गतिविधि तथा क्याम्पसको वार्षिक मुखपत्र प्रकाशन लगायतका कार्यक्रम सम्पन्न भइसकेका छन्।
वार्षिकोत्सव सफल बनाउन विभिन्न १२ वटा उपसमिति गठन गरी आवश्यक तयारी पूरा गरिएको सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले जानकारी दिए। उनका अनुसार कार्यक्रमका अवसरमा वर्षभरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कृत गरिनेछ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले वार्षिकोत्सवका अवसरमा सम्मान कार्यक्रम, क्याम्पसको वार्षिक मुखपत्र ‘दीपिका’ को २१ औँ अङ्क विमोचन, क्याम्पस प्रमुखको वार्षिक प्रतिवेदन प्रस्तुति तथा विद्यार्थीका प्रतिभा प्रस्फुटनका विविध कार्यक्रम आयोजना गरिने बताए।





















