बुटवल, २८ फागुन ।
रुपन्देहीमा पशु बध गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–११, भुल्का डाँडाको जंगल क्षेत्रमा गाईको बाछो जस्तो देखिने पशु काटेर मासु बिक्री गरेको आशंकामा प्रहरीले छबिलाल सार्कीलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा मासुको थुप्रो तथा पकाउने भाँडाकुँडा फेला पारेको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उक्त मासु गाईको बाछो हुनसक्ने आशंका गरिएको प्रहरीले बताएको छ ।
प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार मासुको पहिचान सुनिश्चित गर्न नमुना संकलन गरी परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाइने तयारी गरिएको छ । “घटनाको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षण गरिनेछ, त्यसपछि थप कानुनी प्रक्रिया अघि बढाइनेछ,” उनले बताए ।
स्थानीयवासीका अनुसार सो क्षेत्रमा लामो समयदेखि यस्ता गतिविधि हुने गरेको आशंका रहेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।
यसैबीच देवदहस्थित गौशालाका योगी सोमराजले धार्मिक आस्थामाथि आघात पुग्ने प्रकारका घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् । उनले यस्ता घटनाप्रति सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।





















