काठमाडौँ, २७ फागुन । दुबई विमानस्थलमा रोकिएका नेपाली यात्रुको उद्धार गर्न नेपाल वायुसेवा निगमले बुधबार राति विशेष उडान सञ्चालन गर्ने भएको छ । निगमले मंगलबार जारी गरेको उडान सूचनाअनुसार वाइडबडी विमानमार्फत ‘स्पेशल फ्लाइट’ सञ्चालन गरी यात्रु उद्धार गरिनेछ ।
सूचनाअनुसार आरए २२९ (काठमाडौँ–दुबई) उडान आज राति ११ः१५ बजे काठमाडौँबाट दुबईतर्फ प्रस्थान गर्नेछ । उक्त विमानले नेपालमा रोकिएका यात्रुलाई दुबई पु¥याउनेछ भने दुबईमा फर्किन प्रतीक्षारत यात्रुलाई लिएर आरए २३० (दुबई–काठमाडौँ) उडानमार्फत स्वदेश फर्किनेछ। दुबईबाट उडेको विमान बिहीबार बिहान ४ः१० बजे काठमाडौँ आइपुग्ने तालिका रहेको निगमले जनाएको छ ।
निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठ का अनुसार अमेरिका–इरान युद्ध सुरु भएपछि उडान प्रभावित हुँदा दुबईमा रोकिएका यात्रुको उद्धारका लागि १२ दिनपछि पहिलो पटक विशेष उडान सञ्चालन गर्न लागिएको हो ।
उनले ‘पहिलो जो आउँछ उसैलाई पहिलो सेवा’ भन्ने मान्यताका आधारमा यात्रुलाई प्राथमिकता दिइने बताए । आज रातिको उडानमार्फत २७० देखि २८० जना यात्रु दुबई पुग्ने अनुमान गरिएको छ ।
निगमका अनुसार फेब्रुअरी २८ देखि मार्च ९ सम्म टिकट लिएका तर यात्रा गर्न नसकेका यात्रुहरूले मात्र आजको विशेष उडानमार्फत यात्रा गर्न पाउनेछन् । यात्रुले निगमबाट आफ्नो टिकट पुनः प्रमाणित (रि–भेरिफाइ) गराएर मात्र यात्रा गर्न सक्ने भन्दै निगमले सम्बन्धित यात्रुहरूलाई सूचनामार्फत आग्रह गरेको छ ।





















