काठमाडौँ, २७ फागुन — राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा उनको गृहजिल्ला म्याग्दीमा स्तम्भ निर्माण गरिएको छ । जिल्ला खेलकुद विकास समितिले शाहीको खेल क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप उक्त स्तम्भ निर्माण गरेको हो ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले शाहीले देशका लागि खेलमार्फत पु¥याएको योगदानलाई सम्मान गर्दै स्तम्भ निर्माण गरिएको बताए । उनका अनुसार शाही खेलबाट पनि उज्ज्वल भविष्य बनाउन सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेकी छन् ।
“अहिलेलाई स्तम्भको अनावरण मात्र गरिएको हो, आगामी दिनमा पर्यटकको आकर्षण बढ्ने गरी उपयुक्त स्थानमा राखिनेछ,” अध्यक्ष श्रेष्ठले बताए । स्तम्भ निर्माणप्रति कप्तान शाहीले खुसी व्यक्त गर्दै यस सम्मानले आगामी पुस्तालाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् । रघुगंगा गाउँपालिका–३, पिप्लेमा जन्मिएकी शाहीले सन् २०१३ देखि नेपालको भलिबल टोलीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्दै आएकी छन् । उनले सन् २०१९ देखि राष्ट्रिय टोलीको कप्तानी सम्हाल्दै आएकी छन् ।
शाहीकै कप्तानीमा नेपालले वुमन्स सेन्ट्रल जोनको उपाधि, दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक, काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक र काभा वुमन्स भलिबल च्यालेन्ज कपमा कांस्य पदक हात पारेको थियो ।





















