काठमाडौं ।
नेपालका एक मात्र अर्बपति विनोद चौधरी विश्वका धनी व्यक्तिहरूको सूचीमा १९८२ औँ स्थानमा परेका छन् । अमेरिकी व्यावसायिक पत्रिका फोब्र्सले सार्वजनिक गरेको सन् २०२६ को अर्बपतिको विश्वव्यापी सूची अनुसार चौधरीको कुल सम्पत्ति २.१ अर्ब अमेरिकी डलर पुगेको छ ।
दक्षिण एसियाली क्षेत्रमा भारतबाहेक अर्बपतिको सूचीमा पर्ने उनी एक मात्र व्यक्ति हुन् । नेपालबाट अर्बपतिको सूचीमा निरन्तर रूपमा नाम राख्दै आएका चौधरीले पछिल्लो वर्ष आफ्नो सम्पत्ति वृद्धि गर्दै विश्वको धनीहरूको सूचीमा उपस्थिति कायम राख्न सफल भएका हुन् । फोब्र्सको विवरण अनुसार सन् २०२५ मा चौधरी विश्वका धनीहरूको सूचीमा १७६३ औँ स्थानमा थिए । त्यतिबेला उनको कुल सम्पत्ति करिब २ अर्ब अमेरिकी डलर बराबर रहेको उल्लेख गरिएको थियो ।
सन् २०२६ मा भने उनको सम्पत्तिमा थप वृद्धि भएको छ । एक वर्षको अवधिमा चौधरीको सम्पत्ति करिब १० करोड अमेरिकी डलरले बढेर २.१ अर्ब डलर पुगेको फोब्र्सले जनाएको छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो रकम झण्डै २ खर्ब ८० अर्बभन्दा बढी हुन आउँछ । यसले चौधरीको व्यापारिक साम्राज्य अझै विस्तार भइरहेको संकेत गर्दछ ।
चौधरीको सम्पत्तिको मुख्य आधार चौधरी ग्रुप (सीजी) हो । यो समूह नेपालकै सबैभन्दा ठूलो निजी व्यावसायिक समूहमध्ये एक मानिन्छ । सीजीको व्यवसाय खाद्य उद्योगदेखि बैंकिङ, होटल, रियल इस्टेट, ऊर्जा, दूरसञ्चार र उपभोक्ता सामग्रीसम्म फैलिएको छ । विश्वका ३० भन्दा बढी देशमा यसको व्यापारिक उपस्थिति रहेको बताइन्छ ।
विशेषगरी सीजीको लोकप्रिय उत्पादन ‘वाइ–वाइ’ चाउचाउ अन्तर्राष्ट्रिय बजारमा निकै सफल भएको छ । यो ब्रान्ड दक्षिण एसिया मात्र नभई अफ्रिका, युरोप र अमेरिकाका विभिन्न बजारमा समेत निर्यात हुँदै आएको छ । चौधरी ग्रुपले पछिल्ला वर्षहरूमा पर्यटन र होटल क्षेत्रमा पनि ठूलो लगानी विस्तार गरेको छ । नेपाल, भारत, श्रीलंका लगायतका देशमा अन्तर्राष्ट्रिय स्तरका होटल परियोजनाहरू सञ्चालन तथा निर्माणको चरणमा रहेका छन् ।



















