Spread the love

काठमाडौं, २५ फागुन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी चैत १३ गतेका लागि तय गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ । राखेपले एन्फालाई पत्राचार गर्दै परिषद्को स्वीकृति नलिई निर्वाचन प्रक्रिया अघि नबढाउन आग्रह गरेको हो ।

राखेपको संघ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पठाएको पत्रमा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम ७ को (ग) अनुसार परिषद्को स्वीकृति नभएसम्म संघको साधारण सभा तथा निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि स्थगित गर्न भनिएको छ । साथै, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को (ड) बमोजिम यसबारे जानकारीका लागि अनुरोध गरिएको उल्लेख गरिएको छ ।

राखेपका अनुसार यसअघि गत पुस २२ गते नै एन्फालाई प्रचलित कानूनअनुसार काम गर्न र ११ बुँदे निर्देशनसहित पत्र पठाइएको थियो । तर, ती निर्देशनहरूको समन्वय नगरी एन्फाले निर्वाचन तालिका सार्वजनिक गरेको परिषद्को भनाइ छ ।
यसैबीच, राखेपको निर्देशनको अवज्ञा गर्दै गैरकानूनी प्रक्रिया अपनाइएको भन्दै एन्फाका उपाध्यक्षसहित केही केन्द्रीय सदस्यहरूले उजुरी दिएका छन् । उनीहरूले यस्तो गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा तथा फुटबल खेलको विकासमा नकारात्मक असर पर्ने आशंका व्यक्त गरेका छन् । राखेपको निर्देशनपछि तोकिएको मितिमा एन्फाको निर्वाचन हुने वा नहुने भन्ने विषयमा अन्योल सिर्जना भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्