Spread the love

भैरहवा, २६ फागुन ।
रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा ६ लाख २९ हजार २ सय रुपैया बराबरका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाही जानकारी दिए ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी एक लाख २४ हजार रुपैया बराबरको करिब २० क्विन्टल काँचो केरा, शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजार रुपैया बराबरको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ ।

यसैगरि मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५ सय रुपैया बराबरका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ । देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य अन्दाजी रु १ एक लाख २२ हजार रहेको छ ।

यस्तै रोहिणी गाउँपालिका–३ लखनौटियाबाट रु २२ हजार १०० बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ । कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी एक लाख ११ हजार ६ सय रुपैया रहेको छ ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट एक लाख ५० हजार रुपैया बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्