काठमाडौं, २५ फागुन — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने मनस्थिति बनाएको बताएका छन् । उनले सोमबार साँझ काठमाडौंको नयाँबानेश्वरमा भएको भेटवार्तामा उपसभापति विश्वप्रकाश शर्मालाई जानकारी गराएका हुन् ।
भेटका क्रममा सभापति थापाले चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पद त्याग गर्नु उपयुक्त हुने धारणा राखेका थिए । स्रोतका अनुसार थापाले चुनावमा पार्टीको पराजयको जिम्मेवारी लिएर पद त्याग गर्ने बताएका थिए । तर उपसभापति विश्वप्रकाश शर्माले भने अहिले सभापतिको राजीनामा पार्टीका लागि उचित नहुने प्रतिक्रिया दिएका छन् । उनले चुनावी हारको दोष कुनै एक व्यक्तिमा मात्रै नजाने उल्लेख गर्दै अहिले नेतृत्व परिवर्तनभन्दा पनि समग्र समीक्षा आवश्यक रहेको बताए ।
स्रोतका अनुसार शर्माले रास्वपाको जितभन्दा बढी यो काग्रेसको पराजय भएको भन्दै निक्कै कठिन समयमा निर्वाचनमा जानुपर्ने अवस्था आएको बताए । नयाँ कार्यसमिति बनेको पाँच दिनमै उम्मेदवारी दर्ता र करिब ५० औं दिनमै चुनाव सम्पन्न भयो । त्यसैले हारको समग्र र सूक्ष्म समीक्षा गरेर स्थिति सम्हालेर अघि बढ्नुपर्ने सुझाव आएको छ । उनले सभापतिले तत्काल राजीनामा दिए पार्टी झनै अप्ठ्यारो परिस्थितिमा पुग्न सक्ने तर्क गरेका छन् । पार्टीभित्र अहिले चुनावी परिणामबारे समीक्षा र आगामी रणनीतिबारे छलफल जारी रहेको बताइएको छ ।




















