बुटवल,२४ फागुन । एक सय १६ ओैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तिनाउ गाउँपालिका गठित महिला समन्वय समितिले महिला सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तालिम आईतवार दोभानमा सम्पन्न गरेको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि प्रेम श्रेष्ठले तिनाउ गाउँपालिकाले “महिला पहिला“ बनाउने अभियानलाई जोड दिएको बताए । उनले तिनाउ गाउँपालिकाले कृषि,पर्यटन,पशुपालन र उद्यमशीलतामा जोड दिदै अघि बढेको बताए ।
दिवसका अवसरमा उनले महिलाहरुलाई नेतृत्वका निम्ति तयार रहन समेत सुझाब दिए। कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमामात्र अधिकारका कुरा नगरी समावेशी तरिकाले सदैव अघि बढ्नु पर्नेमा जोड दिए ।उनले महिलाहरुलाई सशक्तिकरण गर्दै उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।
तालिमको सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङले गरेका थिए । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला र नेपाली महिलाको अवस्था,लैङ्गिक समता,महिला उद्यमशीलता र महिला सशक्तिकरण विषयमा सहजीकरण गरेका थिए ।
तालिममा तिनाउ गाउँपालिकाभित्र रहेका ६ वटै वडाका ३० वटा महिला समूहहरुको सहभागीता रहेको थियो ।
तालिममा सहभागी दुर्गा भण्डारी,गोपिका पौडेल,बस्याल र पम्पा मगरले तालिम प्रभावकारी रहेको र निरन्तर सञ्चालन हुँदा महिलाहरु सक्षम र सबल हुने बताए ।






















