बुटवल, २४ फागुन ।
सामाजिक सेवामा सक्रिय बुटवलका केही दम्पतीहरू रक्तदानमार्फत समाजसेवामा उदाहरणीय बनेका छन् । टोल–समाजका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका उनीहरू मानव जीवन बचाउने कार्यमा समेत उत्तिकै समर्पित देखिएका छन् ।
यसैमध्येका एक जोडी हुन बुटवल कालिकानगरका ऋषिराम घिमिरे र राधा पाण्डे घिमिरेका दम्पती, रक्तदान अभियानमा यी दम्पतीको सक्रिय सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ । ५८ वर्षीय ऋषिरामले हालसम्म १४ पटक र उनकी श्रीमती राधाले १२ पटक रक्तदान गरिसकेका छन् । रक्तदान अरूको जीवन बचाउन सक्ने सबैभन्दा महत्वपूर्ण सेवा भएकाले रक्तदान गर्दै आएका ऋषिराम बताउँछन् । बिरामीलाई जीवनदान दिनेमात्र नभई समाजमा मानवता र सहयोगको भावना बलियो बनाउने हुदा रक्तदानलाई निरन्तरता दिएको उनी बताउछन ।
बुटवल उपमहानगरपालिका वडा नं. १३ का राजन गौडेल र सुस्मा गौडेलको दम्पति नियमित रक्तदान गर्छन । राजनले ३२ र सुस्माले २६ पटक रक्तदान गरेका छन । सामाजिक र पुण्य कर्ममध्ये रक्तदान सबैभन्दा उत्तम कर्म भएको राजनले बताए । हामीले दिएको रगतले कसैको जीवन बच्न सक्छ भने त्योभन्दा ठूलो सेवा अरू नहुने भन्दै नियमित रक्तदान गर्न उनीहरु अरुलाई समेत प्ररित गर्छन् ।
यता बुटवल उपमहानगरपालिका वडा नं. ४, भुवनेश्वरी मार्गका अनिल बिक र रमा थापा पनि हाटबजारमा रक्तदान गरे । २६ पटक रक्तदान गरेका अनिलकै बाटोमा श्रीमति रमा पनि पाचौ पटक रक्तदान गरिन । दम्पत्ती पछिल्लो केही वर्षदेखि रक्तदानमा सहभागी हुदै आएका छन । ‘मैले पहिलेदेखी नै रक्तदान गर्थे ।’–अनिलले भने । ‘दुबै जनाले भने संयुक्त रुपमा पाच पटक रक्तदान गर्यौ ।’–उनले थपे ।
बुटवलकै अमृतमान श्रेष्ठ र चमेली श्रेष्ठको जोडी पनि नियमित रक्तदान गर्दै आएका छन । नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रबाट दम्पतीले स्वर्ण पदकबाट सम्मानित भएका छन । यतिमात्र होईन उनिहरुको सन्तान पनि नियमित रक्तदान गर्छन ।
यता सरकारी जागिरे होम बहादुर एसी र उनको श्रीमति सीता खनाल एसी रक्तदान अभियानमा लामोसमयदेखी जोडिएका छन । प्रत्येक ३ महिनामा उनिहरु नियमित रक्तदान गर्दै आएका छन । नेपाल स्वयंसेवी रक्तदान समाज रुपन्देहीमा आवद्ध ईश्वरी गौतम र सम्झना नेपाल पनि जोडी रक्तदाता हुन । दुर्लभ समुहको रगत भएका कारण ईश्वरी रगत अभावको बेला रक्तदान गर्दै आएका छन । यता सुदर्शन भट्टराई र सम्झना भट्टराई पनि पुण्य काममा छन । समाजका कार्यसमिति सदस्य हरि प्रसाद ज्ञवाली र उनको श्रीमति राधा ज्ञवाली समेत नियमित रक्तदान गर्दै आएका छन ।

रुपन्देहीमा दुई दर्जन बढी स्वयंसेवी रक्तदाता जोडीहरु छन । रक्तदानमार्फत मानव जीवन बचाउने कार्यमा दम्पतीहरुले समाजमा प्रेरणदायी उदाहरण प्रस्तुत गरेका छन ।






















