बुटवल, २४ फागुन ।
११६ औ अन्तराष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा बुटवलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको समन्वयमा बुटवलमा क्रियाशिल २८ वटा संघसंस्थाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक जानकी नेपालले बताईन् ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा हाटबजारस्थित बालमन्दिर परिसरमा भएको रक्तदान कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै महिलाहरुको सम्मान हुने, सीप, स्वस्थ्यमा अग्रसरता ल्याउने गरि कार्य गर्दै आएको बताए । गफमा भन्दा पनि ब्यवहारमा देखिने गरि पालिकाबाट योजनाहरु ल्याएको उनले बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रा अर्याल, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बुटवलका प्रमुख कमला दिदी, लायन्स डिष्ट्रिक ३२५ पि का पूर्व गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ, नेपाल रेडक्रस सोसाईटीका टेक बहादुर थापा, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले सामाजिक कार्यमा एकतावद्धता जरुरी रहने बताए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बुटवललाई सहज रगत उपलब्धता र धेरै रक्तदाता भएको स्थानको रुपमा चिनिदै आएको बताए । ‘रगत पाईन्छ, निशुल्क पाईन्छ साथै धेरै महिलाहरुले रगत गर्ने ठाउको रुपमा बुटवल चिनिएको छ ।’–उनले बताए । उनले रगतको शुल्क तिर्न नसक्ने बिरामीका लागि स्थानीय सरकारबाट सहयोग गर्ने व्यवस्था समेत रहेको बताए ।




















