बुटवल, २४ फागुन ।
ब्लड बैकमा रगत अभाव भएसंगै बुटवलमा क्रियाशिल सामाजिक संघसंस्थाहरु रक्तदान कार्यक्रममा जोड दिएका छन । नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको आयोजना तथा रुपन्देहीका २५ भन्दा बढी सामाजिक संघ–संस्थाहरू सहकार्यमा आईतबार बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको हो ।
लगातारको सार्वजनिक बिदा र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण ब्लड बैकमा रगत अभाव देखिएको तथा महिलाहरुको विशेष पर्वसमेत पारेर आफुहरु रक्तदान कार्यक्रम आयोजना गरेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले बताए । महिलाहरुको विशेष पर्व अन्तराष्ट्रिय नारी दिवस पारेर गरिएको नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको विशेष रक्तदान कार्यक्रममा ८० युनिट रगत संकलन भएको उनले बताए । पछिल्लोसमय ब्लड बैकमा ‘ओ’ पोजिटिभ बाहेकका सबैजसो रगत अभाव रहेको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्री देवी अर्यालले उद्घाटन गर्दै सामाजिक गतिविधिमा बुटवलका संघसंस्थाहरुको उत्तिकै योगदान रहेको बताईन । नागरिकलाई रगत र रक्तदानको महत्व बुझाउदै नया रक्तदाता जन्माउने गरि अभियान चलाउन उनले आग्रह गरिन ।
कार्यक्रममा संघका केन्द्रिय प्रमुख सल्लाहकार विमल बहादुर शाक्य, केन्द्रिय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश सभापति कृष्ण पंगेनी, पहिलो महिला हिमानी ट्रस्ट रुपन्देहीकी संयोजक प्रजुना श्रेष्ठ सिलवाल, केन्द्रीय सल्लाहकार सुरेन्द्र शाक्य, राजकुमार श्रेष्ठ, लेखनाथ न्यौपाने तथा जिल्ला सल्लाहकार रमेश पाण्डे र ऋतेश ज्ञवाली, केन्द्रिय सदस्य सुनिता खड्लुका बरालले रक्तदानको महत्व हरेक घरघरमा बुझाउन जरुरी रहेको बताए ।




















