बुटवल, २३ फागुन । रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा सुलभ खरेल निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णु प्रसाद पौडेललाई ४३ हजार ६८९ मतान्तरले पराजित गरे । एमालेका उम्मेदवार पौडेलले १२ हजार ८६१ मत प्राप्त गरेका छन् ।
रुपन्देही–२ मा खरेलले अन्य प्रतिस्पर्धी उम्मेदवारलाई ठूलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ स्थित निर्वाचन अधिकृतको कार्यालयमा शनिबार दिउँसो विजेता घोषणा तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै रास्वपाले शनिबार शहिदहरूको सम्झनामा समवेदना सभा तथा धन्यवाद सभा आयोजना गरेको छ । बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयदेखि चौपारीसम्म करिब डेढ किलोमिटर पैदल ¥याली निकालिएको थियो । ¥यालीमा समर्थकहरूको स्वतस्फूर्त सहभागिता देखिएको थियो ।
सभालाई सम्बोधन गर्दै खरेलले मतदाताहरुबाट आफ्नो जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै अब आफूले जिम्मेवारी सम्हाल्ने समय आएको बताए । उनले प्रणालीगत भ्रष्टाचार अन्त्य गर्न आफू प्रतिबद्ध रहने बताए । खरेलले शहिदहरूको सम्झनामा समवेदना सभा तथा नागरिकबाट प्राप्त विश्वासप्रति आभार व्यक्त गर्न धन्यवाद सभा आयोजना गरिएको पनि बताए ।






















