रुपन्देही, २३ फागुन ।
हज तथा उमराहका लागि साउदी अरब पुगेका रुपन्देहीका नेपाली मुस्लिम तीर्थालुहरू अलपत्र परेका छन । खाडी क्षेत्रमा बढेको युद्ध तनावका कारण स्वदेश फर्किन नसकी उनिहरु अलपत्र परेका छन् । उडान अवरुद्ध भएपछि उनीहरू हाल मदिना शहरमा रोकिएका छन् ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–४ निवासी ताहिर अलि सहित ३६ जना नेपाली मुस्लिम तीर्थालु १५ दिने प्याकेजमा हज तथा उमराहका लागि साउदी अरब पुगेका थिए । उनीहरू ३ मार्च २०२६ मा नेपाल फर्किने तयारीमा रहेका बेला खाडी क्षेत्रमा इरान र संयुक्त राज्य अमेरिका बीच बढेको तनावका कारण उडान रोकिँदा स्वदेश फर्किन नपाएको बताइएको छ । तीर्थालुहरूका अनुसार निर्धारित समयमा फर्किन नसक्दा उनीहरू समस्यामा परेका छन् । ताहिर अलीले पठाएको सन्देशमा आफूहरू मदिना शरीफमा बसिरहेको र स्वदेश फर्किने उडानको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् ।
उनका अनुसार तीर्थालुहरू त्यहाँस्थित नेपाली दूतावाससँग सम्पर्कमा रहे पनि हालसम्म उद्धारका लागि ठोस पहल नभएको गुनासो गरेका छन् । नेपालबाट गएका अन्य दुई समूहका करिब २० जना तीर्थालु पनि सोही क्षेत्रमा रोकिएको उनले जानकारी दिएका छन् । अलपत्र परेका तीर्थालुहरूले नेपाल सरकारसँग यथाशीघ्र उद्धार गरी सुरक्षित रूपमा स्वदेश फर्किने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । युद्ध तनावका कारण उडान अवरुद्ध हुँदा बसोबास तथा दैनिक व्यवस्थापनमा कठिनाइ भएको उनीहरूको भनाइ छ ।





















