Spread the love

सिद्धार्थनगर, १७ फागुन ।

नेपाल प्रहरीका ३३औँ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेपछिका ‘सुनौलो १०० दिन’को प्रगति विवरण सार्वजनिक गरिएको छ। वि.सं. २०८२ कार्तिक २७ गतेदेखि संगठनको कमान सम्हालेका कार्कीले उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री तथा जनमुखी प्रहरी संगठन निर्माणको प्रतिबद्धतासहित अघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रधान कार्यालयको सूचना शाखाका अनुसार १०० दिनको अवधिमा नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण तथा वैज्ञानिक अपराध अनुसन्धान प्रणाली संस्थागत गर्ने कार्य अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालयहरूको मासिक मूल्यांकनका लागि “कार्यसम्पादन मूल्यांकन मार्गदर्शन” लागू गरिएको छ भने प्रहरी कार्यालय सहयोगीदेखि वरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारीका लागि आकस्मिक सहुलियत कर्जा अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याइएको छ।

राशन स्केलमा देखिएको असमानता हटाउँदै फागुन १ गतेदेखि तीन प्रकारका सामग्री थप गरिएको छ। सातै प्रदेशमा सुरक्षा गोष्ठी तथा “प्रहरी व्यवस्थापन र परिचालन : विद्यमान चुनौतीहरू र भावी कार्यदिशा” विषयमा रणनीतिक सम्मेलन सम्पन्न गरिएको जनाइएको छ।

प्रहरी प्रधान कार्यालयमा कृत्रिम बुद्धिमत्ता तथा एड्भान्स एनालिटिक्स सेल स्थापना गरिएको छ। सातदोबाटो, बौद्ध र कोटेश्वरलगायत स्थानमा सात प्रहरी युनिट तथा सेवा केन्द्र भवन उद्घाटन गरिएको छ भने देशभर १२ प्रहरी कार्यालयका लागि जग्गा प्राप्त गरिएको विवरणमा उल्लेख छ।

अपराध अनुसन्धान र नियन्त्रण

प्रहरीका अनुसार जघन्य तथा गम्भीर प्रकृतिका अपराधमा करिब शतप्रतिशत सफल अनुसन्धान गरिएको दाबी गरिएको छ। कर्तव्य ज्यानका १२३ घटनामा १८८ अभियुक्त पक्राउ परेका छन्। जबरजस्ती करणी तथा उद्योगका ४७५ घटनामा ४४५ अभियुक्त कानुनी दायरामा ल्याइएको छ।

फैसला कार्यान्वयनअन्तर्गत १९६० वर्ष कैद तथा रु. ३८ करोडभन्दा बढी जरिवाना असुलउपर गर्न बाँकी रहेका ५७८१ फरार प्रतिवादी पक्राउ गरिएको छ। लागूऔषधसम्बन्धी १५४८ मुद्दा दर्ता भई २४५५ जनाविरुद्ध कारबाही गरिएको छ। १७ हजार १५३ केजी गाँजा, ४२० केजी चरेस, १० केजी हेरोइनलगायत ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ। २५५ नाल अवैध हतियार समेत बरामद गरिएको केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए।

सामुदायिक तथा सामाजिक पहल

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत २७ हजार ५२८ कार्यक्रम सञ्चालन भई १२ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन्। चार हजारभन्दा बढी हराएका व्यक्तिलाई परिवारको जिम्मा लगाइएको छ। विभिन्न निकायबाट प्राप्त २४० सवारी साधन मातहतका निकायमा वितरण गरिएको छ।

करिब रु. ५९ करोड ९५ लाख बराबरको राजस्व चुहावटसम्बन्धी सामग्री नियन्त्रणमा लिइएको केन्द्रीय सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिपशमशेरले जानकारी दिए।

सामाजिक उत्तरदायित्वअन्तर्गत आइजीपी कार्कीले आफ्ना स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा गुल्मीको मालिका गाउँपालिका–७ स्थित देविस्थान माध्यमिक विद्यालयमा रु. पाँच लाखको अक्षयकोष स्थापना गरेका छन्।

प्रविधि र सेवा सुधार

देशभर ४५६ वटा सीसीटीभी क्यामेरा जडान गरिएको छ। ट्राफिक प्रहरीको वेबसाइटमार्फत हराएका सवारी साधन अभिलेखीकरण प्रणाली सञ्चालनमा ल्याइएको छ। पहिचान नखुलेका शव तथा हराएका व्यक्तिको विवरण सार्वजनिक पहुँचमा पुग्नेगरी वेबसाइट परिष्कृत गरिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा योजना तयार गरी सम्बन्धित निकायसँग समन्वय सुदृढ गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्