Spread the love

बुटवल, १७ फागुन ।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस का उम्मेदवार चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय गरेको छ । राप्रपाले प्रेस विज्ञप्तिमार्फत देशको आर्थिक, सामाजिक तथा समृद्धिका एजेन्डामा कांग्रेससँग नजिकता रहेको उल्लेख गर्दै प्रत्यक्षतर्फ कांग्रेस उम्मेदवारलाई मत दिन पार्टी पंक्ति र आम मतदातालाई आह्वान गरेको हो ।

राप्रपा रुपन्देही क्षेत्र नं. २ का अध्यक्ष रामबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “वैचारिक भिन्नता रहे पनि वर्तमान परिस्थितिमा आर्थिक–सामाजिक समृद्धिका मुद्दामा एजेन्डा नजिक भएकाले राजनीतिक सहमतिको निरन्तरता कायम राख्दै यस क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार समाजसेवी तथा उद्योगी चुन्न प्रसाद शर्मा पौडेललाई समर्थन गर्ने निर्णय गरिएको हो ।”

यसअघि राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेकी कार्भिका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । उनले अध्ययनका क्रममा लिएको स्थायी आवास अनुमति पत्र (पीआर) उम्मेदवारी दर्तापछि परित्याग गरे पनि संविधानको धारा २९१ अनुसार परित्याग गरेको कम्तीमा तीन महिना पूरा भएपछि मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको जानकारी पाएपछि उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेकी थिइन् । राप्रपाको समर्थनसँगै रुपन्देही–२ मा चुनावी समीकरण थप रोचक बनेको छ ।

यता राप्रपाका प्रदेश अध्यक्ष प्रदिप उदयले क्षेत्रको क्षेत्राधिकार भित्रको कुरा भएको हुदा यो पार्टीको क्षेत्रिय समितिको बैठकबाट निर्णय भएको बताए । आफनो दलको मतदाताहरुलाई एकत्रित गरेर मतदानको अपिल गर्न गरिएको भन्दै यसमा जिल्लाबाट कुनै विवाद निकाल्न जरुरी नरहेको समेत बताए । यस क्षेत्रमा राप्रपाको ७ देखी ८ हजार समानुपातिक मत रहेको उनले दाबी गरे । यसअघि २०७९ को निर्वाचनमा राप्रपाले नेकपा एमालेसंग तालमेल गरेको थियो भने ०७४ मा नेपाली काग्रेस पार्टीलाई समर्थन गरेको थियो ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टी (रुपन्देही) का जिल्ला अध्यक्ष सागर प्रताप राणाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा कुनै पनि राजनीतिक दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय पार्टीले नगरेको बताएका छन । राप्रपाले केन्द्रदेखि जिल्लासम्म कसैसँग चुनावी तालमेल वा समर्थन गर्ने विषयमा आधिकारिक निर्णय नगरेको आईतबार पत्रकार सम्मेलन गरि बताए । “राप्रपाले कसैलाई पनि समर्थन र सहयोग गरेको छैन,” उनले भने । जिल्ला अध्यक्ष राणाले केही व्यक्तिले व्यक्तिगत रूपमा चलखेल गरेको हुन सक्ने संकेत गर्दै त्यसलाई पार्टीको आधिकारिक निर्णयका रूपमा लिन नहुने बताए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्